चिकित्सा शिक्षा अध्यादेश ल्याएका पूर्वप्रम देउवा भन्छन्ः देशभित्रै मेडिकल कलेज बढाउनुपर्छ

काठमाडौं, २९ चैत । प्रधानमन्त्री रहँदा काठमाडौंमा आउँदो १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाईने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत विषय समेटिएको तत्कालिन चिकित्सा शिक्षा अध्यादेश ल्याएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा मेडिकल कलेजको संख्या थप्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।
शुक्रवार राजधानीमा ११ विद्यार्थी संगठनले आयोजना गरेको समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका देउवाले देशभित्र चिकित्सा शिक्षा विस्तार नगर्दा हजारौं विद्यार्थीहरु विदेश जानपरेको भन्दै देशभित्रै मेडिकल कलेजको संख्या बढाउनुपर्ने बताएका हुन् । देउवाले गुणस्तर समेत कायम राखी मेडिकल शिक्षालाई विस्तार गर्नुपर्ने बताएका हुन् । देउवाले विद्यार्थीबाट बढि शुल्क असुलेका मेडिकल कलेजलाई पनि कार्वाही गर्नुपर्ने बताए । यद्यपी मेडिकल पढ्न विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनको भनाइ थियो । देउवाले भने, 'विद्यार्थी ठग्ने केलेजलाई कार्वाही गर्नुपर्छ । साइडबाई साइड देशभित्रै स्ट्याण्डर्ड मेन्टेनसहित मेडिकल कलेजहरु खोल्न र खोल्न दिनुपर्छ ।'
देउवा सोही पार्टीका सभापति हुन् जसले संसदमा रहेको चिकित्सा शिक्षा विधेयकमा डा. केसीले भनेझैं राजधानीमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एक विश्वविद्यालयले पाँचवटा भन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत मागका पक्षमा संसद अवरुद्ध गरेको थियो ।