बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गछौं: प्रशासनमन्त्री पण्डित

काठमाडौं, २९ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गर्ने बताएका छन् ।
राप्रेस क्लव धनगढीले बिहिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले सरकारले कसैको पनि दयामाया नगरेर कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् । उनले कानुन अनुसार सरकारले चिकित्सकहरुलाई कार्वाही गर्न सुरु गरिसकेको समेत बताए । मन्त्री पण्डितले भने ‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चलन गर्ने हो, यसअघि नै चिकित्सकहरुलाइ बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले गरिसकेको छ ।’
सामान्य प्रशासन सरकारले चिकित्सकको लागि छात्रवृत्ति, वृत्तिविकासको ढोकाखुला राखेको भन्दै उनले सेवा सुविधा नघट्ने र बढुवा हुने गरी व्यवस्थापन गर्ने पनि दावी गरे । मन्त्री पण्डितले सरकारी सुविधा लिने तर निजी अस्पताल खोलेर त्यतैतिर धाउने चिकित्सहरुको काम अनैतिक रहेको उल्लेख गरे । कर्मचारी समायोजना असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकहरु विगत ८ दिनदेखि देशभरका आकास्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।