अस्पतालले बिरामीको आफन्तसँग गरेको सहमतिमा आपत्ति जनाउँदै आम्दाका स्वास्थ्यकर्मी आन्दोलित

रुपन्देही, २८ चैत । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले आफन्तसँग गरेको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै स्वास्थ्य कर्मीहरुले बुधबारदेखी आम्दा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन् ।
बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने बालक ओम दर्लामीको उपचारकालागि सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना भएको र उपचारका क्रममा एक घण्टापछि नै मृत्यु भएको थियो । स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए ।
उनीहरुको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्त बिचको वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाईदिने, बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निःशुल्क गर्ने, छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति गरेको थियो । सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यर्कीहरुले आन्दोलन सुरु गरेका हुन् ।
‘स्वास्थ्यकर्मीको लापरवाही देखाएर गरिएको सहमतिमा अस्पताल प्रशासनप्रति हाम्रो आपत्ति छ ।’ अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले भनिन्, ‘यत्रो सहमति हुँदाखेरी आफुहरुलाई नसोधेको प्रति असहमति व्यक्त गरेका छन् । बिरामीको मृत्युपछि कार्यरत स्वास्थ्यकर्मी नर्सलाई मृतककी आमाले हातपात गरेको उनीहरुको आरोप छ । हातपातका कारण अहिले पनि ती नर्सको मनोबल गिरेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिरामी बचाउनकालागि उपचार गर्ने भएकाले आफूहरुको प्रयास सधै बचाउनकालागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशिला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्य कर्मी माथि लगाएका सबै आरोपहरु निराधार भएको बताएकी छन् ।
मृतक बच्चाका आफन्तले उपचारमा रहेका नर्सहरुलाई जहाँ देख्यो त्यही मार्दिन्छु भन्नेसम्मका धम्किका कारण आफूहरुलाई काम गर्ने सुरक्षित वातावरण बनाउन, सिरियस बिरामी आउँदा अव छुने अवस्था नरहेकाले काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरुलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग सहित उनीहरु आन्दोलित भएका हुन् ।
उक्त सहमति खारेज गर्नुपर्ने, ज्यानमार्ने धम्की दिने तथा युनिफर्ममै रहेका बेला हात हाल्नेलाई कानुनी कारवाही हुनुपर्ने उनीहरुको माग छ । आफूहरुले उठान गरेका माग पुरा नहुँदा सम्म काममा नफर्किने उनीहरुको वताएका छन् ।