औषधि आपूर्ति गर्न पटक-पटक म्याद थप्ने, जिल्ला -जिल्लामा पारासिटामोलको मौज्दात शुन्य

काठमाडौं, २७ चैत । समयमा नै औषधि आपूर्ति हुन नसक्दा अत्यावश्यक औषधिहरु जिल्लाहरुमा सहज रुपले पाउने अवस्था छैन् ।
औषधि आपूर्ति गर्न सरकारले सम्झौता गरेको कम्पनीले विभिन्न कारण देखाइ म्याद थप गराउँदा औषधि अभाव भएको पाइएको छ । स्वास्थ्य सेवा विभागले पारासिटामोल सस्पेनसन आपूर्ति गर्न क्यूरेक्स फर्मास्यूटिक प्रा.लि इन्द्रचोकसँग ०७४ माघ ५ मा सम्झौता गरेको थियो । १२५ एमजीको पारासिटामोल सस्पेनसन ६० एमएल तीन लटमा सात महिनाभित्र १३ लाख ६४ हजार बोटल आपूर्ति गर्न सम्झौता भएको थियो । तर आपूर्तिकर्ताले कच्चा पदार्थ आपूर्ति गर्न भारतीय सरकारको नीति परिवर्तन र सीमामा जाम भएको कारण देखाई म्याद थपको निवेदन दिएको पाइएको छ । पहिलो लटमा ल्याउनुपर्ने तीन लाख ६४ बोटलको शुरु म्याद २०१८ मे १९ लाई परिवर्तन गरी ३ सेप्टेम्बर २०१८ कायम गरिएको हो ।
विभागले सो अवधिमा पूर्वनिर्धारित क्षतिपूर्ति नलिने गरी ०७५ असार २२ मा म्याद थपे पनि तत्पश्चात औषधि आपूर्ति गर्न थप कारबाही नबढाएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । जसमा सरासर भ्रष्टाचार भएको देखिएको छ । म्याद थप गर्दा आपूर्ति व्यवस्थापन सुचना प्रणालीको ०७५असार २० मा उक्त औषधिको मौज्दात न्युन रहेको पनि प्रतिवेदनले देखाएको छ । यस समयमा १० लाख, ३९ हजार छ सय १७ बोटल मौज्दात रहेको थियो । यसै अवधिमा कास्की र मुगुमा भने उक्त औषधिको मौज्दात शुन्य रहेको देखिएको छ ।
सरकारी अधिकारीहरु संवेदनशील नभएर फर्मा कम्पनीको अनुकुलतामा काम गर्दा बालबच्चालाई अत्यावश्यक उक्त औषधिको अभाव भएको छ । मन्त्रालयकै अकम्र्यणताका कारण औषधि अभावमा दुर्गमका जिल्लाहरु पिल्सीरहँदा केन्द्रमा बसेर स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने औषधि अभाव नभएको सुगा रटान लगाउन छाडेका छैनन् ।