नेपाल रेडक्रसको प्रदेश संरचनामा नेतृत्वः ४ वटा प्रदेशमा निर्विरोध निर्वाचन



Download our app to get more features

काठमाडौं, २५ चैत । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संरचनालाई संघीयता अनुरुप लगेको छ ।

सो अनुरुप रेडक्रसले हालै ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न गरेको छ । २ नं, गण्डकी प्रदेश, ५ नं, कर्णाली प्रदेशमा पहिलो पटक भएको निर्वाचनबाट प्रदेश समितिहरु यसै हप्ता गठन भएका हुन् । ती प्रदेश समितिहरुमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका छन् । नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन गत शनिवार कास्कीको पोखरामा सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै चैत्र २१ र २२ मा महोत्तरीमा सम्पन्न २ नम्बर प्रदेशको अधिवेशनले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचित गरेको छ । चैत्र २० गते ५ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अधिवेशन उद्घाटन गरेको थिए । लुम्बिनीमा सम्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिवेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको निर्वाचन चैत्र १९ र २० मा बीरेन्द्रनगर सुर्खेतमा भयो ।

प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गत फागुन १८ र १९ गते ललितपुरमा सम्पन्न नेपाल रेडक्रसको विशेष महाधिवेशनले तय गरे अनुरुप चैत मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा रेडक्रसका प्रदेश समिति बनाइने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts