अछामको तुर्माखाँद र कमलबजारमा स्वास्थ्य शिविर, ४ हजारले गराए स्वास्थ्य जाँच

अछाम, २५ चैत । अछामको तुर्माखाँद गाउँपालिका र कमल बजार नगरपालिकामा ५ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तुर्माखाँद गाउँपालिका र कमल बजार नगरपालिकाको सहकार्यमा बीम अफ होपले शिविरको आयोजना गरेको हो । शिविरमा झन्डै ४ हजारले स्वास्थ्य जाँच गराका छन् ।
तुर्माखाँदमा आयोजित शिविरमा दाँत, स्त्री तथा प्रसुति रोग, छाला रोग, आँखाको उपचार लगायतको सेवा विशेषज्ञ चिकित्सकहरुले गरेका थिए ।
शिविरमा निःशुल्क औषधि वितरण, निःशुल्क ल्याव सेवा, युएसजी, दाँतको शल्यक्रिया सहितको उपचार गरिएको थियो ।
शिविरमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सवाना प्रधान शर्माको नेतृत्वमा डा.निष्ठुक बराल, डा.सन्तोष पण्डित, डा.कमल प्रसाद साउद, डा.शिव अर्याल, डा.शैलेश पौडेल, डा.अद्वेत मरहट्ठा, डा.अमृत भट्टराई, लगायतले सेवा प्रदान गरेका थिए ।
बीम अफ होपका अध्यक्ष डा.सन्तोष उपाध्यायको संयोजकत्वमा अछामका विकट क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चितले सहज रुपमा उपचार पाउन् भनेर शिविरको आयोजना गरिएको हो ।