विश्वमा नै पहिलो पटक एचआइभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै

काठमाडौं, २४ चैत । एचआइभी संक्रमित ५६ वर्षीय गोपाल श्रेष्ठले सगरमाथाको आरोहण गर्ने घोषणा गरेका छन् । एचआइभी लागेको व्यक्तिले पनि केहि गर्न सक्छ भनेर विश्वभर सन्देश फैलाउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनले बताए । एचआइभि भएका व्यक्तिले समाज र राष्टको लागि गर्न सक्छ भन्ने उदाहरण दिन सकिने भन्दै आरोहणमा लागेको बताए ।
उनले आरोहणगर्ने प्रयत्न सन् २०१३ देखि सुरु गरेको बताए । उनी २०७२ सालमा पनि सगरमाथा आरोहण गर्न जादाँ भुकम्पका कारण घाइते भएर फर्कका थिए । यसपाली भने उनी २२ अप्रिलमा आरोहणको लागि जाँदै छन् । अस्पतालमा डाक्टरले तपाइलाई एचआइभि लागेछ अब आयु छोटो छ भन्दा सारै दुख लागेको उनले सुनाए । त्यसपछि अर्काको लागि भएपनि जिउनुपर्ने आश राखेर उनी अगाडी बढेका हुन् । सगरमाथा आरोहण गरेर विश्वभरका एचआइभी संक्रमितको प्रतिनिधित्व गर्न उद्देश्य श्रेष्ठले लिएका छन् । उनी पूर्वफूटबल खेलाडी पनि हुन् ।
विश्व स्वास्थ्य संगठन र यूएन एड्सका अनुसार हाल विश्वभर तीन करोड ६९ लाख व्यक्ति एचआइभीबाट संक्रमित रहेको छन् । २०१७ सम्ममा १८ लाख नयाँ व्यक्ति एचआइभीको संक्रमणमा परेका छन् भने ९ लाख ४० हजार मृत्युको मुखमा पुगेका छन् । २०१७ को तथ्याकं अनुसार नेपालमा ३१ हजार २० एचआईभी संक्रमित रहेको आंकडा छ ।
सगरमाथा आरोहणका लागि ४३ लाख ५० हजार रुपैया लाग्ने र हाल ३० लाख संकलन भइसकेको श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाँकि रकम आरोहण सकेर फर्कंदासम्म संकलन गरिसक्ने स्टेप अफ क्याम्पेनले जनाएको छ । यो एउटा आत्मविश्वासको अभियान भएको पनि बताइएको छ ।