नेपालमा आङ खस्ने समस्या विकराल बन्दै, सुदुरपश्चिममा मात्र ७१ प्रतिशत महिला प्रभावित



Download our app to get more features

काठमाडौं, २४ चैत । नेपालमा कम उमेरकै मानिसमा कारण आङ खस्ने समस्याले विकारल रुप लिएको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अझै सुदुरपश्चिम प्रदेशमा आङ खस्ने समस्या झन् बढी देखिएको  छ । शनिबार राजधानीमा खेमा नेपाल नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो । 

नेपालमा  ७५ प्रतिशत विवाहित महिला पाठेघरको कुनै न कुनै समस्याबाट  पीडित भएको पनि तथ्याङ्कले देखाएको छ । जसमा कम उमेरमा विवाह गर्ने २० वर्ष उमेरका महिलामा समेत यो समस्या बढ्दो क्रममा रहेको छ ।

कार्यक्रममा क्यानाडाबाट आएकी गाइनेकोलोजिष्ट (स्त्रीरोग विशेषज्ञ) मार्गरेट रोपर्टले नेपालमा आङ खस्नुको मुख्य कारण कम उमेरमै सन्तान जन्माउनु रहेको बताइन् ।
अझै आङ खसेपछि अधिकांश महिलाले लाजकै कारण आफ्नो समस्या वर्षौसम्म लुकाएर राख्ने पाइएको रोपर्टले बताइन् ।

सुदूरपश्चिममा गरिएको एक अध्ययन अनुसार सानैमा सन्तान जन्माउने र सुत्केरी पछिको १५ दिन भित्रमै गह्रुंगो काम गर्दा महिलाको आङ खस्ने समस्या बढेको हो । 
उनले भनिन् ‘कर्णालीमा गरिएको अध्ययन अनुसार अधिकांश महिलाको वालविवाह र सुत्केरीपछिको स्याहार नहुँदा यस्तो समस्या देखिएको छ ।’ 

कर्णालीका ७१ प्रतिशत महिलामा आङ खस्ने समस्या रहेको उक्त अध्ययन देखाएको छ ।

कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रतिले महिलाको आङ खस्दा मन पनि सँगै खस्ने भन्दै यो समस्या कम गर्न सबैले जोड दिनुपर्ने बताइन् । उनले भनिन्, ‘जनचेतनाका कमिका कारण आङ खसेका महिला परिवार र समाजदेखि लाज मानेर वर्षौसम्म समस्या लुकाएर राख्ने गरेको पाइएको छ ।’

‘आङ खसेका सबै महिलाको उपचारका लागि र कम उमेरका विवाहित महिलामा अब यो समस्या रोक्नका लागि हामी सबैले आफ्नोतर्फबाट पहल गर्नुपर्छ’, उनले थपिन् । 
सरकारले यस्ता समस्या भएका महिलाको शल्यक्रिया गर्नका लागि बजेट छुट्टाएपनि महिलाको स्वास्थ्यसँग जोडिएका अन्य कुरामा वेवास्ता गरेकोप्रति डा. उप्रेतीले दुखेसो व्यक्त  गरिन् । 

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा गेहनाथ बरालले आङ खसेको सर्जरी गर्नु भनेको पाठेघर नै फाल्न हो भन्ने भ्रम व्याप्त रहेको बताए । 

उनले भने ‘आङ खसेको सर्जरी गर्नु भनेको पाठेघर नै फाल्नुपर्छ भन्ने होइन, यो अवस्था हेरेर मर्मत गर्न पनि सकिन्छ ।’ डा बरालले ‘महिलालाई दासका रुपमा लिने र जस्तो अवस्थामा पनि घरका काम गर्नै पर्छ भन्ने नकारात्मकले सोचले पनि यस्तो समस्या निम्तिने गरेको बताए ।’

सबै कुराको कारण नहेरी परिणाम हेर्न हाम्रो बानि रहेको भन्दै डा बरालले अहिलेको अवस्थामा भने यो समस्या सुधारोन्मुख क्रममा रहेको बताए । महिलाअधिकारकर्मी राधा पौडेलले महिलाको विवाहपछिको अवस्थाभन्दा पनि गर्भदेखि नै लिङ्ग विभेद गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताइन् ।

‘उनले भनिन् ‘अहिलेको अवस्थामा समेत गर्भदेखि नै लिङ्ग पहिचान गरेर छोरिलाई गर्भमै मारिन्छ, उनीहरु संयोगले मात्रै बाँच्छन् ।’  

‘सोही कारण छोरीलाई गर्भदेखि हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ, जुन महिलामा आउने हरेक समस्याको मुख्य जड हो’, उनले थपिन् ।

Last modified on 2019-04-07 17:32:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts