वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थान अभाव हुँदा थन्कियो डायलासिस मेसिन

धरान, २४ चैत । पूर्वी नेपालको रिफरल सेन्टर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकरण भएर पनि बिरामीहरुले सहज डायलासिस सेवा पाउनबाट बञ्चित भएका छन् । अस्पत्तालमा उपकरण राख्ने स्थान नहुँदा डायलासिस मेसिन थन्किएर राखिएको छ । जसका कारण बिरामी उपकरण अभावमा सास्ती खेप्दै आएका छन् ।
राज्यले डाईलासिस गर्नु पर्ने बिरामीहरुका लागि सम्पुर्ण उपचार खर्च निःशुल्क गरेको छ । सरकारी अस्पतालहरुमा यसको सुविधा अनिवार्य छ तर दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि पालो पाउनै गाह्रो छ । उपकरण थन्किएको छ । प्रतिष्ठानले त्यसको व्यवस्थापन गर्न नसक्दा १५ दिन सम्म पालो कुर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।
प्रतिष्ठानले नयाँ ८ वटा डायलासिस मेशिन खरिद गरे पछि पुराना ६ वटा थन्काएर राखेको छ । व्यवस्थापन गर्ने स्थानको अभावमा चालु अवश्थामै रहेको मेशिनहरु थन्किदा उपचारका लागि आउने बिरामीहरुले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा दैनिक जसो २४ जनाले सेवा पाएका छन् भने ३० जना जति बिरामी फर्किने गरेका छन् ।
मध्य नेपाल देखि भारतको बिहार सम्मका बिरामीहरु प्रतिष्ठानमा उपचारका लागि आउने गर्दछन् । आपसी झगडामा फस्दै गएको प्रतिष्ठानको प्रमुख पदाधिकारीहरुको वेवास्ताका कारण स्वास्थ्य सेवाको सहज पहुँचबाट बिरामीहरु बञ्चित हुनुपरेको छ ।