विश्व स्वास्थ्य दिवसः मानवीय स्वास्थ्यमा खवरदारी

काठमाडौं, २४ चैत । आज विश्व स्वास्थ्य दिवस नेपलामा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठनको अगुवाइमा प्रत्येक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाइँदै आइएको छ ।
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ मूल नाराका साथ यस वर्ष पनि यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले दिएको र सर्वमान्य परिभाषाअनुसार ‘असल स्वास्थ्यको अर्थ रोग तथा दुर्बलताबाट मुक्त हुनमात्र नभई शारीरिक, मानसिक तथा सामाजिक स्वस्थताको स्थिति पैदा हुनु हो ।’ तर हाल विश्वव्यापारीकरण, उदारवाद, नवउदारवाद, अस्वस्थ राजनीतीकरण र आर्थिकीकरणले स्वास्थ्यलाई अति नाफामूलक व्यापारमा परिणत गरी असल स्वास्थ्यको अर्थ रोग लागेमा उपचार गरी रोगबाट बिसेक हुनुमा मात्र सीमित गरिएको छ ।
शारीरिक, मानसिक र सामाजिक स्वस्थ्यताको अवस्थालाई ध्यान दिइएको छैन । जसले गर्दा समाज, व्यक्ति र परिवार आआफ्नै निजी स्वार्थ र प्रगतिमा सीमित भइरहेका छन् । साथै स्वास्थ्य सेवा र शिक्षालाई सामाजिक सेवा र व्यापारको सट्टा अति नाफामा आधारित व्यापारीकरण गरिएको छ ।
जबकि असल स्वास्थ्यको उद्देश्य व्यक्तिमुखी नभएर समुदाय हँदै राष्ट्र र विश्वकै सहभागिता र सक्रियताबाट व्यक्ति र समाजलाई स्वस्थ बनाउने हो । त्यसैले स्वास्थ्य मात्र नभनी समग्र मानिसको स्वास्थ्यलाई ख्याल गरी जनस्वास्थ्य भनिएको हो । यसको दायरामा चिकित्सा सेवामामात्र सीमित नगरी प्रबर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनस्र्थापनका सबै र समग्र स्वास्थ्य क्रियाकलापलाई समेटिएको छ ।
त्यसैगरी जनस्वास्थ्यको परिभाषालाई पनि सँगसँगै हेर्दा ‘जनस्वास्थ्य कला र विज्ञान दुवैको समि श्रण हो, जहाँ व्यक्ति, समुदाय, राष्ट्र तथा सरकारी र निजी क्षेत्र आदि सबैको सामूहिक प्रयास तथा सुसूचित छनोट र पूर्ण सहभागिताद्वारा रोगको रोकथाम, स्वास्थ्य प्रबद्र्धन गर्दै दीर्घ तथा उत्पादनमुखी जीवन प्राप्ति गर्नु हो ।’ मानव समाजलाई अहिले अति बजारीकरण गर्ने पुँजीवादी, नवऔपनिवेशिक होडबाजीका साथै स्वास्थ्य क्षेत्रमा हाबी भएको फर्मास्युटिकल तथा परीक्षण माफियाकरणबाट समेत मुक्त गर्दै मानव जीवनलाई रासायनिक तथा विकिरणीय असरबाट बचाउने प्रयास गर्नु आवश्यक छ भन्ने आवाज पनि उठ्दै आएको छ ।
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ यस वर्षको नारा दिइएपनि नेपालमा अझैं ६५ प्रतिशत मानिस स्वास्थ्य सेवाको सहज पहुँचमा छैनन् । संघीय संरचनामा जहाँ सरकारले प्रत्येक स्थानीय तहमा एक स्वास्थ्य संस्था र एक चिकित्सक पुर्याउने लक्ष्य लिएको थियो त्यो पनि पुरा हुन र कार्यान्वयन हुनमा शंका छ । विभिन्न बहाना र समस्याका कारण सरकारले लिएको यो लक्ष्य ५ वर्षमा पुरा हुने सम्भावना कम छ । सरकारलाई चाहिने आवश्यक बजेट नपुग्दा काम गर्न समस्या हुने गरेको बेला बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकार्दै आएको छ ।
नेपालले पनि विभिन्न अन्तर्राष्ट्रिय सभासम्मेलनमा जनस्वास्थ्यका महत्वपूर्ण विषय ‘प्राथमिक स्वास्थ्य सेवा सबैका लागि स्वास्थ्य’, प्रजनन स्वास्थ्य, प्रजनन अधिकार र मानव अधिकार, बालअधिकार तथा दिगो विकास सबैमा प्रतिबद्धता जाहेर गरेको तथा नेपालको संविधानले पनि स्वास्थ्यलाई मौलिक हकका रूपमा स्वीकार गरिसकेको छ । त्यसकारण नेपालजस्तो, बहुसांस्कृतिक, बहुजातीय, विविध र जटिल भौगोलिक अवस्थामा रहेको परिवेश र समाजका सबै पक्षलाई विश्लेषण गरी सर्वपक्षीय र समावेशी जनस्वास्थ्य नीति बनाएर मानवीयताको आधारमा संवैधानिक र मानव अधिकारबाट प्रदत्त अधिकारलाई संरक्षण गर्नु आजको आवश्यकता हो ।