डाक्टरको आन्दोलनः जब वीर अस्पतालमा १० घण्टा भोको राखेर इन्दिराको शल्यक्रिया रोकियो

काठमाडौं, २२ चैत । कर्मचारी समायोजनमा असन्तुष्ट सरकारी चिकित्सक संघ गोदानले आह्वान गरेको बन्दको कारण शल्यक्रिया गर्न १० घण्टादेखि भोको राखिएका बिरामीको शल्यक्रिया समेत रोकिएको छ ।
ठिक्क पारेका बिरामीको समेत अस्पतालको वेडमा पुगेका बिरामी शल्यक्रिया नभएको बिरामीले आरोप लगाएका छन् । शल्यक्रियाका लागि अस्पतालमा चैत २० गतेदेखि भर्ना भएर बसेकी गोंगवुकी इन्दिरा शर्मालाई शुक्रवार शल्यक्रिया गराउनका लागि गएरातिदेखि भोको राखियो । तर, शुक्रवार शल्यक्रिया गर्न भनेर गाउन समेत लगाइसकेकी शर्माले अन्तिममा डाक्टरहरुको आन्दोलनले गर्दा शल्यक्रिया नहुने जानकारी पाइन। उनको पित्तथैलिको शल्यक्रिया गर्नुपर्ने भएको थियो ।
उनका अनुसार शल्यक्रिया अब कहिले हुने भन्ने कुनै जानकारी अस्पतालबाट आएको छैन । उनले आफु बसेको युनिटबाट एक जना बिरामीको बिहान नौ बजे भएको त्यसपछि कसैको पनि शल्यक्रिया नभएको जनाइन् । उनले आफ्नो युनिटमा मात्र आज शल्यक्रियाको पालो भएका ७ जना रहेको बताइन् । ‘शल्यक्रियाको लागि सबै व्यवस्था मिलाएर आइएको हुन्छ यसरी अस्पतालमा डाक्टरले बन्द गर्दा हामीलाई दोहोरोअसर परेको कसले बुझ्छ ।’ उनले आक्रोश पोखिन् । ‘अब कहिले हुने हो त्यो पनि थाहा छैन । शल्यक्रिया कै लागि समय मिलाएकी थिएँ । ’
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने शल्यक्रिया र टिकट लिइसकेका बिरामीलाई उपचार गर्न निर्देशन दिएको दावी गरे । उनका अनुसार अस्पतालको ओपिडी मात्र बन्द गरिएको हो । सेन्चुरीले अस्पतालमा शल्यक्रियाको काम नै रोकिएको भन्ने आफुलाई कुनै जनाकारी नआएको पनि बताए । अस्पतालमा दैनिक ३० देखि ३५ को हाराहारीमा र महिना ५ सयसम्म शल्यक्रिया हुने गरेको डा सेन्चुरीले बताए ।