तिलोत्तमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट हावाहुरी पीडितकालाई ४ लाख सहयोग

रुपन्देही, १९ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बारा, पर्सालगायतका जिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतका लागि चार लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले सोमबार एक विज्ञप्ति जारी गर्दै हावाहुरीको घटनाबाट पीडित परिवारको उद्दार तथा राहतका लागि नगरपालिकाका जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी, शिक्षकहरुको तर्फबाट एक दिन बराबरको तलब÷भत्ताबाट चारलाख मुख्यमन्त्री राहत कोषमा तत्काल पठाउने निर्णय गरिएको जनाए ।
विज्ञप्तिमा भनिएको छ, हावाहुरीका कारण घर तथा इँटाभट्टा भत्केर, बिजुलीका पोल लडेर, सवारीसाधन पल्टेर भएको यस अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरुप्रति यस नगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ विज्ञप्तिमार्फत् नगर प्रमुख घिमिरेले यस दुःखद् घडीमा घाइतेहरुको उपचार,पीडित परिवारको उद्धार तथा राहतको काममा जुट्न सम्पूर्णमा अपिल समेत गरेका छन् ।