बारापर्सा हावाहुरीः सामान्य घाइते भएका २ सय ८४ जना डिस्चार्ज, प्रधानमन्त्री कलैया अस्पतालमा

काठमाडौं, १८ चैत । विनाशकारी हावाहुरीमा परेर बाराको कलैया अस्पतालमा सबैभन्दा धेरै घाइतेले उपचार गराईरहेका छन् ।
सबैभन्दा बढि जनधनको क्षति पुर्याएको बारा जिल्लामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली एवं मन्त्रीहरुले त्यहाँ उपचाररत बिरामीलाई भेटेर सहानुभूति दिएका छन् । सबैभन्दा धेरै २ सय ५८ जनाको उपचार भैरहेको बाराको कलैया अस्पतालको प्रधानमन्त्री, गृहमन्त्री लगायतले अवलोकन निरीक्षण गरेका छन् । उनीहरुले घाइतेको उपचारमा कुनै कसरत बाँकी नराख्न अस्पताल प्रशासन एवं चिकित्सकहरुलाई निर्देशन पनि दिएका छन् ।काँग्रेस उपसभापति विमलेन्द्र निधिले पनि अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन् ।
कुन् अस्पतालमा कति बिरामी
आइतवार साँझको भीषण हावाहुरीमा परि सबैभन्दा धेरै बाराका मानिस प्रभावित भएका छन् । घाइते भएर कलैया अस्पतालमा २ सय ५८ जना, नारायणी अञ्चल अस्पतालमा १ सय १६ जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १ सय ९७ जना, वीरगञ्ज हेल्थ केयरमा ४० जना, गण्डक अस्पतालमा २८ जना, तराई अस्पतालमा २ जना, एडभान्स अस्पतालमा २० जना गरी ६ सय ६३ जनाको बाराका अस्पतालहरुमा उपचारलाई ल्याइएको थियो । त्यस्तै पर्साका घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा एकजना, वीरगञ्ज हेल्थकेयरमा ४ गरी ५ जनाको उपचार भइरहेको छ । त्यस्तै गम्भीर घाइते भएका ७ जनाको राजधानीको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
अस्पताल ल्याइएका मध्ये २ सय ८४ जना सामान्य उपचारपछि डिस्चार्ज भएर फर्किएका छन् भने ३ सय ७८ जनाको उपचार भैरहेको छ ।