बारा पर्सामा राहत औषधि बाँड्दै नेपाल औषधि उत्पादक संघ

काठमाडौं, १८ चैत । विनाशकारी आँधिहुरीले प्रभावित प्रदेश २ को बारा र पर्सा जिल्लाका अस्पतालमा औषधि अभाव हुन नदिन नेपाल औषधि उत्पादक संघले राहत औषधि वितरण सुरु गरेको छ ।
आँधीहुरीका कारण सयौं मानिस घाइते भएपछि बारा र पर्साका अस्पतालहरुमा औषधि अभाव हुनथालेसँगै संघले औषधि वितरण सुरु गरेको हो । संघ अन्तर्गत रहेका वीरगञ्जमा अवस्थित उद्योगहरुमा रहेको औषधि स्थानीय अस्पतालमा वितरण गर्न थालिएको संघका सदस्य एवं मिडिया संयोजक विप्लव अधिकारीले हाम्रो डक्टरलाई जानकारी दिए ।
बारा र पर्सामा हिजो आएको विनाशकारी आँधीले घाइते भएका सयौं मानिसको अहिले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, बारा जिल्ला अस्पताल लगायतमा उपचार भइरहेको छ । घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेकाहरुलाई सेनाको हेलिकोप्टरमार्फत राजधानी ल्याइएको छ ।
स्वस्फूर्त रक्तदान
दुर्घटनामा घाइते भएकाहरुको उपचारका निम्ति अत्याधिक रगतको आवश्यक्ता भएसँगै बारा र पर्साका विभिन्न स्थानमा स्वस्फूर्त रक्तदान कार्यक्रमहरु आयोजना गर्न थालिएको छ । त्यस्तै अस्पतालमा तत्काल आवश्यक पर्ने रगत जुटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक, सर्वसाधारणहरुले रक्तदान गरेका छन् । दुर्घटनामा सामान्य र गम्भीर गरि ७ सय जनाभन्दा बढि घाइते भएका छन् ।