डाक्टर टोली तयारी अवस्थामा, घाइतेको उपचारमा कुनै समस्या आउन दिँदैनौंः राज्यमन्त्री यादव



Download our app to get more features

 

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा, पर्सा सहितका क्षेत्रमा कुनैपनि किसिमको रगत अभाव नभएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले गएराति आएको हावाहुरी र असिना पानीका कारण भएका घाइतेको उपचारमा संघीय सरकारले कुनैपनि कसर बाँकी नराखेको र नराख्ने बताएका छन् ।

हाम्रो डाक्टरसँग कुराकानी गर्दै उनले घाइतेहरुको उपचारका लागि कुनै पनि समस्या नहोस् भन्नका लागि हामीले काठमाडौं, भरतपुर, वीरगञ्ज र जनकपुरमा स्ट्याण्डबाई डाक्टहरुको टोलीलाई राखेको बताए । साथै स्थानीय स्वास्थ्यकर्मीहरु र छिमेकी जिल्लाको स्वास्थ्यकर्मीलाई पनि उपचारमा खटाइएको उनले जानकारी दिए ।

उनले भने, ‘मैले आफैं वीरगञ्ज र बाराका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सँग घटनाबारे जानकारी लिएको छु । उहाँहरुका अनुसार अहिले घाइतेहरुको उपचारमा कुनै समस्या भएको छैन ।’ उनले थपे, ‘नेपालीको सेनाको टोली पनि तयारी अवस्थामा छ ।

घटनाबारे थप जानकारी लिनका लागि त्यस क्षेत्रमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । उद्दार कार्यमा कुनै समस्या हुँदैन ।’ राज्यमन्त्री यादवले नेपाल रेडक्रस सोसाइटी सँग पनि हामीले समन्वय गरेको र रगत अभाव हुन नदिन भनि निर्देशन नै दिएको बताए ।

अहिले केहिबेरमा इमर्जेन्सी बैठक बसेर घटना सम्बन्धमा थप के गर्न सकिन्छ भन्ने विषयमा निर्णय हुने जानकारी दिँदै मन्त्री यादवले हामी निरन्तर त्यहाँका सम्बन्धीत निकायसँग सम्पर्कमा रहेको पनि बताए ।

Last modified on 2019-04-01 14:12:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts