यौन उत्तेजना बढाउने अवैध औषधि सहित झापाबाट चारजना पक्राउ

काठमाडौं, १७ चैत । झापाको नेपाल भारत नाकाबाट अवैध औषधि सहित चारजना पक्राउ परेका छन् ।
झापको कचनकवल हुँदै नेपाल भित्र्याउन लागिएको २२ लाखभन्दा बढि मूल्य बराबरको १४ कार्टुन औषधि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जोरपाटी बस्ने भारतीय नागरिक ३२ वर्षीय फुन्चोक लामा, झापा बाह्रदशी गाउँपालिकाका २२ वर्षीय इम्तियाज आलम सम्दान हुसेन र २४ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मे १ च ४०६३ नं को मारुति भने, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० नम्बरको मोटरसाइकलमा अवैध औषधि लुकाएर ल्याउने क्रममा शनिवार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ब्रेस्टिम आयल ७ सय ९९ बट्टा, ओर्लिम्याक्स ३१० नामको क्याप्सुल पाँच कार्टुन, फ्लोमिस्ट नासल स्प्रे दुई कार्टुन, केयरप्रोस्ट नाम गरेको औषधि २ कार्टुन, एमएग्रा नामक औषधि एक हजार बट्टा र जुरिक नाम भएको ४ सय ५ बट्टा, फोरडम नामक औषधि २ सय बट्ट बरामद गरिएको छ । ती औषधिको मूल्य २२ लाखभन्दा बढि रहेको प्रहरीको अनुसन्धानले देखाएको झापाका जिल्ला प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जनाए ।
बरामद गरिएका औषधि यौन उत्तेजना बढाउने खालका भएका र त्यसलाई काठमाडौं लैजान खोजिएको पनि पाइएको छ । बरामद गरिएको अवैध औषधिहरु औषधि व्यवस्था विभागलाई बुझाइने प्रहरीले जनाएको छ ।