स्वास्थ्य समूहका कर्मचारी समायोजन २ दिनभित्र, ११ औं तहको कर्मचारीको पदस्थापन स्वास्थ्यलाई

काठमाडौं, १७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थय समूहका कर्मचारीको सूची अबको दुई दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।
कर्मचारी समायोजन सकिएपनि स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची अहिले सम्म सार्वजनिक हुन सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले हाम्रो डाक्टरसँग कुराकानी गर्दै स्वास्थ्य समूहका कर्मचारीको अन्तिम सूची तयार हुन नसकेका कारण ढिलाई भएको बताए ।
उनले भने, “मन्त्रालयको तथ्याङ्क राख्ने प्रविधिमा केहि प्राविधिक त्रुटि भएका कारणले स्वास्थ्य समूहका कर्मचारीको सूची सार्वजनिक गर्न ढिलाई भएको हो । तर, अबको एक दुई दिन भित्रमै स्वास्थ्यको सूची सार्वजनिक गरिनेछ ।”
प्रवक्ता अधिकारीले स्वास्थ्यको झन्डै २७ हजार कर्मचारीको समायोजन भएको भन्दै ११ औं तहको कर्मचारी सबै केन्द्र अन्र्तगत रहने हुनाले तीनको पदस्थापनको काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नै दिइएको पनि बताए ।
उनले भने, “११ औं तहका कर्मचारीको सङ्ख्या कम भएका कारणले तीनको पदथापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई नै दिइएको छ । स्वास्थ्यले चाँडै ११ औं तहको कर्मचारी सूची सार्वजनिक भएसँगै गर्नेछ ।”