डाक्टर श्रीमानको कुटपिट पछि घाइते श्रीमतीको मृत्यु

पर्सा, १६ चैत । डाक्टरले श्रीमतीलाई निर्घात कुटपिट गरेपछि घाइते भएकी सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले ४० वर्षीया श्रीमती सुनितालाई मरणासन्न हुने गरि कुटपिट गरेका थिए ।
गत विहीबार होलीको दिन सुनितालाई माइती पक्षले उपचारका लागि अस्पतालमा भनाए गराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । महाराजगञ्जमा उपचारको क्रममा सुनिताको शुक्रबार मृत्यु भएको हो ।
पर्साको हरपतगंजका डा.सचितानन्द यादवसँग १५ वर्ष पहिले वीरगञ्ज गण्डक बहुअरीकी सुनिता यादवको २० लाख रुपैया दाईजो समेत दिई मागी विवाह भएको थियो । विवाहको एक वर्ष नवित्दै डा. यादवले भारतको रक्सौलकी एक महिलालाई कान्छी श्रीमतीका रुपमा घर भित्र्याएका थिए ।
त्यसपश्चात डा.यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमतीलाई निरन्तर मानसिक तथा शारीरीक यातना दिँदै आएको सुनिताको माइती पक्षको आरोप छ ।
माईती पक्षले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइसकेका छन् । उजुरी परेपछि पीडक भनिएका डा. सचितानन्द सोमबार आफै प्रहरी कार्यालय पर्सा आएर आफू निर्दाेष रहेको जिकिर गरेको प्रहरी उपरीक्षक रेवति ढकालले बताए । तर, पीडित पक्षको उजुरीका आधारमा डा. सचितानन्दलाई हिरासतमा राखिएको छ ।