नेपालमा पुगे छ हजार आठ सय विशेषज्ञ चिकित्सक, दर्ता भएका चिकित्सक २३ हजार नाघे

काठमाडौं, १५ चैत । नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ पढाई पुरा गरी दर्ता लिने चिकित्सकको संख्या ६ हजार, आठ सय ८८ पुगेको काउन्सिलले जनाएको छ । विभिन्न ६२ विधाका विशेषज्ञ चिकित्सक रहेका छन् । त्यसैगरी काउन्सिलमा २०१८ डिसेम्बरसम्म एमबीबीएस र बिडीएस तर्फ गरी २३ हजार ७ सय १५ चिकित्सक दर्ता भएको पनि काउन्सिलले उल्लेख गरेको छ ।
नेपाल मेडिकल काउन्सिलको ५६ औं वार्षिकोत्सव समारोहमा बोल्दै रजिस्ट्रार दिलीप शर्माले काउन्सिलले एकवर्षसम्म गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।
एक वर्षमा कति गए विदेश पढ्न
काउन्सिलका अनुसार एक वर्षमा करीब छ सयको हाराहारीमा विदेश गएर मेडिकल पढ्ने गरेको तथ्यांक छ । सन् २०१८ मा अन्डर ग्रयाजुएडतर्फ र बिडीएस गरी पाँच सय ८६ जना विदेशमा गएर अध्ययन गरिरहेको रजिष्ट्रार शर्माले उल्लेख गरे ।
२५ उजुरीमा कारवाही
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका विभिन्न प्रकारका उजुरी तथा निवेदनको छिटो छानवीन तथा अनुसन्धान गरिएको काउन्सिलले दावी गरेको छ । काउन्सिलले यसवर्ष करीव २५ वटा निवेदन माथि कारबाही गरेको जनाएको छ ।
काउन्सिलसँग जम्मा ९ करोड
काउन्सिलले आफ्नो खातामा ९ करोड रहेको जनाएको छ । काउन्सिलको सम्पूर्ण कर्मचारी खर्च, व्यवस्थापन खर्च दर्ता शुल्क र परीक्षा शुल्कबाट उठेको रकमबाट हुँदै आएको काउन्सिलका रजिष्ट्रार शर्माले जानकारी दिए ।