स्वाइन फ्लुले पछिल्लो चार महिनामा १८ को मृत्यु
कठमाडौं, १४ चैत । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।
महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा मात्रै १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन । मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए ।
चार प्रकारका भाइरसले स्वाइन फ्लु फैलाउने सरुवारोग विशेषज्ञहरू बताउँछन् । एच१एन१, एच१एन२, एच३एन१ र एच३एन२ ती भाइरस हुन् । सबैभन्दा खतरनाक एच१एन१ भएको चिकित्सकहरू बताउँछन् ।
पहिलोपटक सन् २००९ मा मेक्सिकोमा सुंगुर फार्ममा देखिएको स्वाइन फ्लु अहिलेसम्म संसारका २ सयभन्दा बढी देशमा फैलिसकेको छ । परीक्षणका क्रममा सुंगुरमा पाइने जिनजस्तो भाइरस मानिसमा पनि पत्ता लागेपछि यसलाई चिकित्सकले स्वाइन फ्लु भन्न थालेका हुन् । तर, नेपालमा सर्वसाधारण आतंकित हुने डरले एच१एन१ लाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेका छन् ।
यसरी सर्छ स्वाइन फ्लु
सुंगुरको सम्पर्कमा नियमित रहने मानिसमा स्वाइन फ्लु भाइरस सर्छ । स्वाइन फ्लु प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाबाट अन्यमा सर्ने चिकित्सक बताउँछन् । रोगीले खोक्दा, हाँच्छिउँ गर्दा यसको जीवाणु फैलिन्छ । यो जीवाणु घन्टौँसम्म पनि जीवितै रहन सक्ने भएकाले बढी खतरनाक हुने चिकित्सक बताउँछन् ।
बच्ने उपाय
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार सुरुवाती दिनमै स्वाइन फ्लुको संक्रमण पहिचान हुन सके उपचार सम्भव हुन्छ । स्वाइन फ्लुबाट बच्ने पहिलो उपयुक्त उपाय संक्रमित व्यक्तिको सम्पर्कबाट जोगिनु नै हो । डा. पुनका अनुसार सरसफाइमा ध्यान दिने, धुवाँधुलोयुक्त सार्वजनिक स्थानमा जाँदा सुरक्षित मास्क प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने र खोक्दा तथा हाछ्युँ गर्दा सफा कपडाले छोप्ने गर्नुपर्छ ।
लक्षण
सामान्यतः सय डिग्रीभन्दा बढी ज्वरो आउनु, रुघाखोकी लाग्नु, शरीर शिथिल बन्दै जानु, इच्छाशक्तिमा कमी आउनु, भोक नलाग्नु, टाउको दुख्नु स्वाइन फ्लु (एच१एन१) का लक्षण हुन् । कहिलेकाहीँ वाकवाकी हुने र झाडापखालासमेत लाग्छ । सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण हुने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मौसमी रुघा खोकी भन्दै आएको छ ।
औषधि पाउनबाट बिरामी वञ्चित छैनन्ः महाशाखा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि बिरामी उपचार पाउनबाट वञ्चित नभएको बताएको छ । प्रयोगशाला परीक्षणबाट मौसमी रुघाखोकी (सिजनल एन्फ्लुएन्जा एच१एन१) प्रमाणित भई बिरामीको रिपोर्टसहित अस्पतालबाट ‘एन्टिभाइरल’ औषधि माग भएको अवस्थामा उपलब्ध गराउँदै आएको महाशाखाले जनाएको छ । कोही पनि बिरामी औषधि नपाएर फर्कनु नपर्ने महाशाखाले जनाएको छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)