ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने, ५ सय रुपैयाँको प्रिमियम तिरेर एक लाखसम्मको उपचार पाइने



Download our app to get more features

काठमाडौं, १३ चैत । ७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्षेनि एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने व्यवस्था छ । 

नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । यसलाई बढाएर एक लाख र्पुयाइएको छ ।

परिवारको एक जनाले बर्षेनि स्वास्थ्य बिमाबापत १० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने गरेकामा अब यो रकम दोब्बर अर्थात् २० हजार भएको छ । ‘ज्येष्ठ नागरिकलाई छुट्टै युनिट मानेर वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने गरी राज्यले प्रिमियम तिर्छ,’ सरकारको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । बोर्डको आकलनअनुसार मुलुकमा ७० वर्षमाथिका करिब १० लाख जना छन् ।

नयाँ नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत ७ सय रुपैयाँ तिर्नुपर्छ । सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको बिमा गराउन पाउँछ ।

स्वास्थ्य बिमामा सबै औपचारिक क्षेत्रका कर्मचारीले आम्दानीका आधारमा कुल तलबको १ प्रतिशत रुपैयाँ योगदान गर्नुपर्नेछ । ‘एउटा परिवारको कर्मचारी रहेको मूल व्यक्तिले एक लाख वार्षिक तलबमा १ प्रतिशत रकम स्वास्थ्य बिमा प्रिमियमका रूपमा तिर्नुपर्छ,’ पोखरेलले भने । गरिब परिवारको प्रिमियम सरकारले नै तिर्ने प्रक्रिया यथावत् राखिएको बोर्डका अध्यक्ष उमाशंकर प्रसादले बताए । २५ जिल्लाका अति गरिब वर्गका ३ लाख बिमितको स्वास्थ्य बिमा प्रिमियम सरकारले तिरेको छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-03-28 07:17:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts