‘थाहै नपाई’ गर्भवती, भिडियो एक्सरे गर्दा गर्भ बसेको लाग्यो पत्ता



Download our app to get more features

सप्तरी, १३ चैत । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् ।  पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्याएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ ।

मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन् ।

हनुमाननगर कंकालिनी–४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले यौनसम्पर्क राखेको पीडितको भनाइ छ । उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले । उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आएका थिए ।

मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले कम उमेरमा बच्चा जन्माउनु राम्रो होइन । ३४ सातामा गर्भपतन गराउन सकिँदैन । अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्विीकृति दिएको छ । डा. विकासकुमार साहका अनुसार प्रजनन् क्षमताको उमेर नभएको यो चरणमा गर्भपतन गराउन जोखिमपूर्ण हुन्छ । उनले बालिकाको स्वास्थ्य परीक्षण गरेका थिए ।

बालिकाले बच्चा जन्माए पनि वा गर्भपतन गराए पनि जोखिम रहेकाले बाबुआमा तनावमा छन् । बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिए पनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा उत्तिकै रहेको उपचारमा संलग्न डाक्टर बताउँछन् ।

 

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

Last modified on 2019-03-28 07:18:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts