प्रदेश १ मा विषादी प्रयोग बढ्दोः चेकजाँच गर्न विषादी मापन केन्द्र निर्माण

काठमाडौं, ८ चैत । प्रदेश १ मा विषादीको प्रयोग बढ्दै गएपछि बजार आउने कृषिजन्य उत्पादनहरुको विषादी चेकजाँच गर्न विषादी मापन केन्द्र निर्माण गरिएको छ ।
कोशी पहाडी जिल्लाबाट आउने कृर्षिजन्य वस्तुको विषादी चेकजाँच गर्न धरानको कृषि उपज बजार स्थलमा विषादी मापनका लागि भवन निर्माण गरिएको हो ।
प्रदेश १ सरकारले मापन यन्त्रको व्यवस्थापनको लागि भवन निर्माण गर्न कृषि मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
साथै वजार व्यवस्थापन समितीको आन्तरिक १५ लाख रुपैया वजेट पनि प्राप्त भएको छ ।
कृषि जन्य वस्तुमा विषादीको प्रयोगले मानव जीबनलाई गम्भिर असर गरिरहेको अवस्थामा मापन केन्द्र स्थापनाले मानव स्वास्थ्यमा थप सहयोग मिल्ने व्यापारी बिनोद राईले बताए ।
असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित निर्माणाधिन ४ कोठे भवनमा २ वटामा ल्याव र अर्को २ वटा कोठामा भने वैकिङ सेवा विस्तार गरिने भएको छ ।
कृर्षि जन्य वस्तुको विषादी मापन यन्त्र खरीदका लागि प्रदेश सरकारले ४० लाख रुपैया सहयोग गर्ने समितीले जनाएको छ ।
विषादी मापन यन्त्रबाट विषादी भेटिएको अवस्थामा किसानहरुको मेहेनत, परिश्रम र लगानी खेर जाने अवश्था आउने भएकाले कार्यान्यवनमा चुनौती रहेको बताउँछन्, व्यवस्थापक लक्ष्मण भट्टराई ।
कृषि उपज बजार स्थल धरानमा रहेको कृषि उपज वजार केन्द्रमा पुर्वी पहाडी जिल्लामा उत्पादन भएको कृषिजन्य वस्तुहरु संकलन भई देश विदेशसम्म जाने गरेको छ ।
केन्द्रले वार्षिक ५ अर्वभन्दा वढी कृषिजन्य वस्तुको कारोबार गर्दै आइरहेको छ ।