होली विशेष

होली खेल्नुअघि गरौं यस्तो तयारी...



Download our app to get more features


खुसी बाँड्ने रङहरुको चाड फागु पुर्णिमा आज मनाइँदैछ । यो दिन रङहरुमा रंगिदै साथीभाइबीच रहेको तिक्तता पनि बिर्सने गरिन्छ । तर, कहिलेकाहीँ केमिकलयुक्त रङहरुको प्रयोगले सबै रमाइलोलाई नै बिर्साइदिने बनाउन सक्छ । त्यसैले होलीका रङमा रंगिनुभन्दा पहिला केही सावधानी अपनाउनु भने आवश्यक छ । सामान्य सावधानी अपनाउन सके होलीमा कुनैपनि डरविना रङमा खुसीले रंगिन सकिन्छ ।

१. होलीको रङमा रंगिनुपूर्व आफ्नो शरीरमा मज्जाले मोस्चराइजर क्रिम लगाउनु फाइदाजनक हुन्छ । यसले छालामा रङ लागे पनि असर कम गराउन सहयोग गर्छ ।

२. रङमा प्रयोग गरिने केमिकलबाट बच्नका लागि नरिवलको तेल पनि निकै फाइदाजनक हुन्छ । 

३. होलीको दिन रङ खेल्नुअघि पूरा बाहुला कपडा लगाउनु राम्रो हुन्छ । तर, पूरै टाइट फिटिङ कपडा नलगाई खुला भएको ड्रेस छनोट गर्नुपर्छ । यसले गर्दा रङ शरीरको सम्पर्कमा पुग्न पाउँदैन र हानि पनि कम हुन्छ ।

४. कालो, सेतो र हरियो रङ बढी हानिकारक मानिन्छ । किनकि, यी रङमा केमिकल बढी प्रयोग गरिन्छ । त्यसैले हलुका रङमा नै रमाउनु फाइदाजनक हुन्छ ।

५. सुख्खा रङको दाँजोमा गिलो रङ बढी खतरनाक हुन्छ । यस्तोमा सफा पानी तथा सुख्खा रङले होलीको मज्जा लिनु राम्रो हुन्छ ।

६. यदि कुनै रङको एलर्जी छ भने सोसँग टाढा नै रहनुपर्छ । या त कुनै चिकित्सकसँग पहिला नै सम्पर्क गरेर आवश्यक एन्टिएलर्जीक औषधि सेवन गर्ने तथा अन्य उपाय अबलम्बन गर्न सकिन्छ ।

७. होली खेल्दै गर्दा सबैभन्दा बढी रङ कपालमा लाग्ने गर्छ । त्यसैले कपालमा नरिवलको तेलले राम्रोसँग मसाज गर्नुपर्छ । सकेसम्म कपाललाई कुनै सलले बाँधेर जोगाउन पनि सकिन्छ । तेल लगाएर होली खेल्दा कपालमा लागेको रङ सजिलैसँग पखाल्न सकिन्छ ।

८. आँखालाई रङबाट जोगाउनका लागि चस्मा प्रयोग गर्न सकिन्छ ।

 

(छाला विशेषज्ञ डा.अनिल दाससँग गरिएको कुराकानीको आधारमा)

Last modified on 2019-03-21 06:06:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts