विकासको लक्ष्य पूरा गर्न परिवार योजनाको साधनमा सबैको पहुँच आवश्यकः उपप्रधानमन्त्री यादव

काठमाडौं, ५ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०३० सम्म परिवार योजना साधनको प्रयोगदर ७५ प्रतिशत पुर्याउने हिसाबले काम भइरहेको बताएका छन् ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको दुईदिने राष्ट्रिय परिवार योजना सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले विकासको लक्ष्य पूरा गर्न परिवार योजनाको साधनमा सबैको पहुँच पुर्याइने बताए ।
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै सरकार अघि बढ्ने भन्दै स्वास्थ्य संस्थाहरुमा परिवार योजनाको साधन सजिलै उपलब्ध हुँदा यसको प्रयोग बढ्ने भन्दै यसलाई सहज र सुलभ बनाउन सकिने उनको धारणा थियो ।
सम्मेलनमा परिवार योजनाको साधनको प्रयोग बढाउन र मातृशिशु मृत्युदर घटाउने योजना तथा रणनीतिबारे छलफल हुने जनाइएको छ । सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।