क्यान्सर रोकथामको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ : प्रा.डा.पौडेल
८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ

काठमाडौं, १३ फागुन । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् ।
आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा पौडेलले यस्तो बताएका हुन् ।प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको भन्दै प्रा.डा पौडेलले यसोगर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने बताए ।
क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे ।
विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए ।क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए ।
विद्यालय उमेर समुहका विद्यार्थीहरु नकारात्मक क्रियाकलापबाट छिट्टै प्रभावित हुने भएकोले शिक्षिक र अभिभावकले सुर्तिजन्य पदार्थ रोकथामको लागि बालबालिकालाई राम्रोसँग निर्देशन गर्नुपर्ने काउन्सि नेपालका अध्यक्ष कडरियाले बताए ।
विद्यार्थीहरुले सुरुमा सुर्ति सेवन गरेतापनि कालान्तरमा लागु पदार्थ सेवन गर्ने कुरा विभिन्न अध्ययनले देखाएको कडरियाले जानकारी दिए ।उनले भने,‘युवा पुस्ता नै यसरी कुलत तथा लागुपदार्थको दुव्र्यसनीमा लाग्दा समाजमा अपराधजन्य क्रियाकलाप पनि बढ्ने खतरा हुन्छ।’
त्यस्तै, सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । उनले प्रविधिजन्य अपराध रोकथामको लागि सहभागिहरुलाई सचेत गराएका थिए ।
‘साईबर–क्राईम’ सम्बन्धि पर्याप्त ज्ञान नभएर अहिलेका युवा पुस्ताहरु अनजानमै विद्युतीय अपराधमा फसेको नायव उपरिक्षक पौडलले बताए । उनले भने,‘सोहीकारण नै सामाजिक सञ्जाल चलाउँदा पनि हामी सचेत हुनुपर्छ ।’
कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागर बहादुर सिँहले वित्तिय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्वअनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
काउन्सिलका अध्यक्ष कडरियालकाअनुसार आजको कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, अभिभाबक र अन्य कर्मचारी गरी पाँच सय ५० भन्दा बढिको सहभागिता रहेको थियो ।