मनलाग्दी उपचार खर्च बाँड्दै प्रधानमन्त्री कार्यालय, वास्तविक विपन्नको फाइल गृहमा अलपत्र 



Download our app to get more features

काठमाण्डौ, २७ कात्तिक । सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको पाइएको छ । 

आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफू निकटलाई करोडौं रुपैयाँ वितरण गर्दै आएको, पाइएको हो । विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले भने कार्यविधिविपरित २ लाखदेखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता लिएको पाइएको छ । 

सरकारले २०६६ सालमा नागरिक राहत क्षतिपूर्ति तथा आथिर्क सहायतासम्बन्धी कार्यविधि ल्याएको थियो । सो कार्यविधिमा अशक्त, गरिब र विपन्न नागरिकलाई आर्थिक सहायता दिनसक्ने व्यवस्था गरिएको छ । 
सरकारले गत आठ महिनाको अवधिमा आफूनिकटका सयौं व्यक्तिलाई ५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा छ ।

तर, सामान्य नागरिकले उपचारका नाममा आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा बुझाएका ५ हजार निवेदन भने आठ महिनादेखि अलपत्र छन् । गृह मन्त्रालयले सामान्य नागरिकको निवेदनलाई गम्भीरतापूर्वक छानवीन गर्नुको साटो त्यसै थन्काउँदै आएको छ । स्रोतका अनुसार गृह मन्त्रालयले माथिको आदेश भन्दै आर्थिक सहायताको टिप्पण्ी उठाएर मन्त्रिपरिषदमा पेस गर्ने गरेको छ ।

 आर्थिक सहायतासम्बन्धी कतिपय टिप्पणी गैरकानुनी रुपमा प्रधानमन्त्री कार्यालयमा नै बन्ने गरेको स्रोतको दाबी छ । गृह मन्त्रालयका अनुसार केही दिनअघि मात्रै माथिको आदेश भन्दै प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीलाई उपचारका लागि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । अधिकारीले प्रदेश ४ सरकारबाट उपचारबापत यसअघि नै ४ लाख ९७ हजार रुपैयाँ बु्झिसकेका छन् । 

पछिल्लोपटक मन्त्रिपरिषद्ले सोर्सफोर्स कै आधारमा झापा दमकका नर्मदा शिवाकोटीलाई १० लाख, तेह्रथुमका वीरबहादुर थापालाई १० लाख, झापाका नरेन्द्र मेचेलाई ५ लाख, सप्तरीका जीवनाथ आचार्यलाई ३ लाख, झापाकै सूर्यकुमार खड्कालाई ३ लाख, ललितपुरका सीता तामाङलाई ५ लाख, इलामका नोवेल केसीलाई ७ लाख र पर्साका मेघराज निषाधलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

 बिना मापदण्ड र बिना आधार आर्थिक सहायता वितरणको निर्णय गर्ने गरिएकाले आर्थिक समृद्धि र सु्शासनको नारा दिँदै अघि बढेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दिनप्रतिदिन आलोचित बन्दै गएको छ । गृहमन्त्रालय आर्थिक सहायता शाखाका अनुसार करोडौं आर्थिक सहायता वितरण गर्ने टिप्पणी प्रधानमन्त्री कार्यालयमा नै बन्ने गर्छ र मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्रै रकम उपलब्ध गराउने बेहोराको पत्र गृह मन्त्रालयमा आउने गरेको छ । एकैपटक माथिबाट आर्थिक सहायता वितरणको निर्णय भएर आउँदा हामी पनि आश्चर्यमा पर्ने गरेका छौं । 
राजधानी दैनिकमा सागर पण्डितले लेखेको समाचार छ । 

Last modified on 2018-11-13 13:21:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts