मधुमेह, मुटु र मिर्गाैला



Download our app to get more features

मधुमेह, मुटु र मिर्गौला तीनओटै शब्द ‘म’ बाट सुरु हुन्छ र नाममा जस्तैं यी तीन आपसमा सम्बन्धित पनि छन् । पछिल्लो समय बढ्दै गएको मधुमेह र मधुमेहका कारण मुटु, मिर्गौलामा हुने जोखिम बारे स्पष्ट हुनु जरुरी छ ।

लामो समयको मधुमेह पछि यसको असर शरीरका विभिन्न अंगमा देखिने गर्छ । तिनीहरूमध्ये मुटु र मिर्गौलामा देखिने असरले कालान्तरमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले मधुमेह भएका बिरामीले मुटु र मिर्गौला बचाउन विशेष सावधानी र होशियारी अपनाउनु पर्छ ।

मधुमेहबाट देखिने जटिलतालाई ‘माइक्रो भास्कुलर’ र ‘म्याक्रो भास्कुलर’  गरेर दुई भागमा विभाजन गरिएको छ । मिर्गाैलालाई असर गर्ने ‘डाइबेटिक नेफ्रोप्याथी’ माइक्रो भास्कुलर अन्तर्गत पर्छ भने मुटुलाई असर गरेर देखिने हर्ट एट्याक म्याक्रो भास्कुलर अन्तर्गत पर्छ । 

मुटुमा असर
मधुमेहका बिरामीमा हर्ट एट्याक हुने सम्भावना अरु विरामीमा भन्दा दोब्बर बढी हुन्छ । मधुमेह भएका विरामीलाई युवाअवस्थामै मुटुरोग देखिने सम्भावना हुन्छ र मधुमेह भएको जति लामो समय हुँदै गयो मुटुरोगको सम्भावना बढ्दै जान्छ । मधुमेहसँगै उच्च रक्तचाप र कोलेस्टेरोल बढ्ने समस्या पनि देखिने भएकाले यसले मुटुलाई रगत सञ्चालन गर्ने नशालाई बिस्तारै साघँुरिदै लैजाने गर्छ । लामो समयपछी त्यो नशा बन्द हुन जान्छ वा त्यसबाट निस्कने रगतको थेग्राले नशा बन्द गरिदिएर हर्ट एट्याक निम्त्याउने गर्छ । चुरोट पिउने, तौल बढी भएका वा पेटमा बोसो बढी भएका मानिसमा मुटुरोगको जटिलता बढाउने गर्छ । त्यसैले मधुमेह भएका विरामीलाई केही काम गर्दा वा हिड्दा छाती दुखेमा, छातीको देब्रे भाग थिचेजस्तो भएमा, सास फेर्न गाह्रो भएमा मुटुरोगको लक्षण हुन सक्छ । यस्तो बेला तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।

मिर्गाैलामा असर
हाम्रो शरिरबाट उत्पादन भएका फोहोरलाई मिर्गाैलाले शरीर बाहिर पठाउने काम गर्छ । मिर्गाैलामा रहेका स–साना रक्तनलीबाट फिल्टर भएर फोहोर बाहिर निस्कने गर्छ । मधुमेहले त्यो रक्तनलीलाई असर गर्छ र हाम्रो शरीरमा रहेको ‘अल्बुमिन’ भनिने प्रोटिनलाई पनि शरीर बाहिर पठाउँछ । पिसाबमा प्रोटिनको मात्रा देखिनु भनेको मधुमेहले मिर्गाैलालाई असर गरेको पहिलो लक्षण हो । पछि गएर मिर्गाैलाको स्वस्थ तन्तुलाई हानी पुराउने र मिर्गौलाले आफ्नो काम गर्न नसक्ने स्थिती देखा पर्छ । त्यसो हुँदा रगतमा युरिया, क्रियटिनिनको मात्रा बढ्दै जान्छ । हातखुट्टा सुन्निने, मुख फुल्ने, भोक नलाग्ने, तौल घट्ने, रगतको मात्रा घट्ने आदि लक्षणहरु मधुमेहले मिर्गौलालाई असर गरेमा देखिने गर्छ । अन्त्यमा गएर दीर्घ मृगौला रोग हुँदै डाइलाइसिस गर्नु पर्ने वा मिर्गाैला प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पु¥याउँछ ।

जाँच कसरी गर्ने ? 
मुटुमा वा मिर्गाैलामा असर गरे÷नगरेको रगतका विभिन्न जाँच, पिसाब जाँच, इसिजी, भिडियो एक्सरे आदि गरेर थाहा पाउन सकिन्छ । त्यसैले मधुमेहका बिरामीले प्रत्येक ६ महिनामा कम्तीमा एक पटक ती जाँच चिकित्सकको सल्लाहमा गराउन जरुरी हुन्छ ।

के सावधानी अपनाउने 
मधुमेह रोगीले मिर्गाैला र मुटु बचाउनको निम्ति बेलैमा केही सावधानी अपनाए त्यसबाट हुने असर न्यूनीकरण गर्न सकिन्छ । मधुमेहका बिरामीले निम्न कुरामा विशेष ध्यान पुराउनु पर्छ:—

  • रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने ।
  • तौल घटाउने, शारीरिक व्यायाम गर्ने ।
  • रक्तचापलाई नियन्त्रणमा राख्ने ।
  • खानपीन र जीवनशैलीमा परिवर्तन ल्याउने ।
  • रक्सी र चुरोट सेवन नगर्ने
  • चिकित्सकको सल्लाहविना औषधि छोड्ने, बढाउने, घटाउने नगर्ने
  • चिकित्सकको सल्लाहमा जाँच र फलो अपमा गर्ने ।
Last modified on 2018-09-29 07:53:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts