'विप्लव माओवादी'लाई चन्दा दिनेमा काँग्रेसी डाक्टर सुनील शर्मादेखि व्यापारी पण्डितसम्म
काठमाण्डौ, ३ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई गृह प्रशासनले निरन्तर धरपकड गरिरहेको छ । फरक फरक जिल्लाले उन्मुक्ति दिएपनि प्रहरीले उनलाई पक्रिने र अर्को मुद्दा चलाउने क्रम जारी छ ।
यसै सन्दर्भमा अनुसन्धान गरिरहेको सरकारी वकिल कार्यालयले विप्लव माओवादीलाई लाखौं चन्दा दिने व्यक्ति तथा संस्थाहरुको सूचि प्राप्त गरेको छ । सरकारी वकिलको कार्यालयलाई हवाला दिँदै जनआस्था साप्ताहिकले विप्लव माओवादीलाई चन्दा दिनेहरुको नामावली प्रकाशित गरेको छ ।
विप्लव माओवादीलाई चन्दा दिनेमा मेडिकल कलेज र मेडिकल सामाग्रीका व्यापारी पनि परेका छन् । विप्लव माओवादीलाई राजधानीको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेजले १५ लाख दिएको छ ।
त्यस्तै काँग्रेस नेता समेत रहेका डा. सुनील शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेजले पनि १५ लाख चन्दा बुझाएको छ । डा.शर्मा गत वर्ष भएको संघीय चुनावमा प्रतिस्पर्धा गरेका थिए । मेडिकल सामाग्रीको व्यापार गर्ने विशाल पण्डितले विप्लव माओवादीलाई ५ लाख चन्दा दिएको देखिएको छ ।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक एवं निजी मेडिकल एण्ड डेन्टल कलेज एशोसियसनका अध्यक्ष समेत रहेका डा.सुरेस कुमार कनौडियाले १ लाख रुपैयाँ दिएका छन् । डा। कनौडिया पनि काँग्रेस नेता हुन् । उनी स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको प्रत्यासी रहेका थिए ।