डाक्टरको लापरबाहीले गर्भवतीको ज्यान गएको भन्दै विराट मेडिकल कलेजमा तनाव



Download our app to get more features

विराटनगर, २४ साउन ।  मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसीनवारीमा रहेको  विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको लापरबाही गर्दा ८ महिनाको गर्भवतिको मृत्यु भएको भन्दै अस्पतालमा तनाव भएको छ ।सुनसरीको इटहरी – १३ खनारकी २५ वर्षिय सगिरा खातुनको उपचारमा लापरबाही भएको कारणले बिहीबार मृत्यु भएको आफन्तको आरोप छ । 

बिरामीको मृत्युपछि आक्रोशित भएका आफन्तले बिहीवार दिनभरी नाराबाजी गर्दा अस्पताल तनावग्रस्त बनो । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरे आन्दोलनमा उत्रिने मृतकका काका ससुरा रहमल मियाँले बताए । अस्पतालको विरोधमा आक्रोसित भएको भीड नियन्त्रण गर्न मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।  सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा भर्ना गराएको थियो । ‘सामान्य पेट दुख्यो भनेर हस्पिटल लगेको हौं,’ मृतकका काका ससुरा रहमलले भने, ‘८ महिनाको गर्भ रहेको बुहारीको चिकित्सकले भर्ना गरेकै दिन शल्यक्रिया गरिदयो ।  पेटमा मात्र समस्या हुँदा कसरी बिरामीको मृत्यु हुन्छ ? उनले प्रश्न राख्दै भने, ‘हस्पिटल र चिकित्सवको लापरवाहीले बुहारीको मृत्यु भएको हो ।’ लापरबाही गर्ने चिकित्सकलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने उनीहरुको माग छ । हस्पिटलको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा. हनुनी पी पोखरेलको टिमले सगिराको उपचार गरेका थियो ।  

यता हस्पिटलका व्यवस्थापक अरविन्द्र मण्डलले बिरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतरा भएकाले आफन्तको सल्लाहमा शल्यक्रिया गरिएको दावी गरे। उनले भने, ‘बिरामी भएकी खातुनलाई ‘एक्मसिया’ देखियो । एक्मसिया हुँदा शल्यक्रिया गरिएन भने बिरामीको मृत्युसम्म हुन सक्छ,’ उनले भने । अन्त्यसम्म चिकित्सकले सक्दो सम्पूर्ण उपचार गर्दा समेत बिरामीलाई बचाउन नसकेको उनको भनाइ छ । बिरामी भएकी खातुनमा पोषणको समेत कमी रहेको अस्पताल प्रशासनले जनाएको छ । खातुनको मृत्यु भएपनि उनको नवजात छोरी सकुसल रहेको अस्पतालले जनाएको छ ।  अस्पताल प्रशासन र बिरामीको आफन्तबीच साझसम्म पनि कुनै सहमति हुनसकेको छैन । अस्पताल प्रशासनले पीडितलाई क्षतीपूर्ति दिनुपर्ने प्रस्ताव राखेपनि बिरामीको आफन्तहले भने क्षतीपूर्ती मात्र नभई उपचारमा लापरबाही गर्ने चिकित्सकलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन् ।  दुई महिना अगाडी समेत विराटमा एक जना सुत्केरी महिलाको मृत्यु भएको थियो । 

Last modified on 2018-08-10 09:54:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts