डा. नूतनले गरिन् १ सय ६८ किलाेकी महिलाकाे सफल प्रसूति शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १३ असार । राजधानीमा १ सय ६८ किलो तौल भएकी एक महिलाले शल्यकृयामार्फत स्वस्थ बच्चा जन्माएकी छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा असार १० गते काठमाडौं कलङ्की निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रियात्मक प्रसूति गराएकी हुन् । 

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो । 

असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भएपनि उच्च सावधानिपूर्वक ती महिलाको शल्यक्रियामार्फत् प्रसुती गराइएको डा. शर्माले बताइन् । सामान्यतः यति ठुलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसुती गराउनु आफैमा निकै कठिन हुने चिकित्सकको भनाइ छ । 

नेपालकै प्रसूति इतिहासमा उच्च तौल भएकी महिलाको शल्यक्रियात्मक सुत्केरी गराइएको यो पहिलो रेकर्ड भएकाे दावी गरिएकाे छ । डा. शर्माले गर्भाधानको शुरुवाती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समुहमा राखेर उपचार गर्दै आएको बताइन् । 

‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भनिन्, ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’ 
लामो समयदेखि बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रशूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्माले बताइन् । 

नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल खाले शल्यक्रियात्मक प्रसूति गराउन सफलता प्राप्त गरेकोमा डा. नुतन शर्मालाई बधाई दिँदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना गरेको छ । डा. शर्माले हालै नर्भिक अस्पतालमा काम थालेकी हुन् । अल्का आइभीएफमा पनि कार्यरत शर्मा यसअघि वयाेधा अस्पतालमा कार्यरत थिइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts