नर्स कार्यक्रमले बदलिँदै विद्यार्थी, प्रदेश ३ का १ सय २१ विद्यालयमा लागू गरिने

काठमाडौँ, ३२ साउन । बागबजारस्थित ललिता अधिकारीका दुई छोरी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कक्षा १ र ५ मा अध्ययनरत छन् । अहिले अधिकारीका दुवैजना छोरीको जीवनशैली फेरिएको छ ।
पहिले बिस्कुट, चाउचाउ, लेज, कुरमुरेजस्ता खानेकुरा उनीहरूलाई नभई हँुदैनथ्यो । खाजा खाँदा होस् वा खाना खान लाग्दा, पैसा लिएर पसल जाने र लेज तथा कुरमुरे हातमा राखेर मात्र भात खुवाउनु पथ्र्याे ।
दुवै छोरीलाई बजारमा पाइने ‘जङ्क फुड’ खाने बानी बसिसकेको थियो । छोरीहरूले कुनै विषयमा झगडा गरे पनि फकाउन पसलै जानुपथ्र्याे । चाउचाउ, लेज, कुरमुरे, फेन्टा, कोक, फ्रुटीजस्ता खानेकुराले मात्र छोरीहरूको चित्त बुझाउनुपर्ने अवस्था थियो । तर पछिल्लो समय ती दुई छोरीको बानीमा व्यापक परिवर्तन आएको छ । जङ्क फुडबिना बस्नै नसक्ने ललिताका छोरीहरू अहिले आमालाई चाउचाउ, चाउमिन, लेजजस्ता खानेकुरा खान हँुदैन भनेर सम्झाउने गर्छन् । कहिलेकाहीँ छिटोछरितो खाजाका लागि चाउचाउ ल्याए पनि छोरीहरूले आमालाई गाली गर्ने गरेका छन् ।
यतिमात्र होइन, छोरीहरू आफ्नो जन्मदिनमा दुई तीन सय रुपियाँको चकलेट लिएर विद्यालय जान्थे र सबै साथीलाई चकलेट दिएर जन्मदिन मनाउँथे । अहिले चकलेट होइन, हात धुने साबुन लिएर विद्यालय जाने गरेका छन् । उनीहरू जन्मदिनको उत्सव विद्यालयमा एउटा साबुन दिएर मनाउने गर्छन् ।
खानाअघि हात धुने, विद्यालय जाने बेलामा हातखुट्टा धोएर मात्र जाने, घरको सरसफाइदेखि अन्य धेरै कुरामा उनीहरूले ध्यान दिएका छन् । यो परिवर्तन त्यत्तिकै आएको होइन । पद्मकन्याजस्ता अन्य २० वटा विद्यालयमा प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेदेखि यी विद्यार्थीको जीवनशैलीमा परिवर्तन आएको हो ।
प्रदेश ३ सरकारले यो कार्यक्रम लागू गरेका अन्य २० वटा विद्यालयमा समेत विद्यार्थीमा आफ्नो जीवनशैली परिवर्तन भएको छ विद्यालयमा नर्सले सरसफाइ गर्ने तरिका, कस्तो खानेकुरा खाने, कुन खानेकुराले कुन पौष्टिक तत्व प्रदान गर्छ, कस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पु¥याउँछ जस्ता विभिन्न विषयमा जानकारी गराउने गरेका छन् । प्रदेश ३ सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत तथा विद्यालय नर्स कार्यक्रमका संयोजक मिलन घिमिरेले विद्यार्थीको बानी व्यवहारमा ठूलो परिवर्तन ल्याउन सफल भएको बताए ।
विद्यार्थीलाई स्वस्थ बनाउन मात्र नभई उनीहरूको जीवनशैलीमा समेत व्यापक सुधार भइरहेको जानकारी दिँदै संयोजक घिमिरेले भने, “प्रदेश ३ ले मात्र होइन, एक विद्यालय एक नर्स कार्यक्रम देशभर लागू गर्न सके भोलिको पुस्तालाई फाइदा पुग्थ्यो ।”
डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमकी नर्स उर्मिला पुडासैनी विद्यालयमा अध्ययनरत एक हजार दुई सय जना विद्यार्थीको स्वास्थ्य विवरण राखेको बताउछन् । विद्यार्थीको स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण ल्याउनकै लागि उनीहरूको जीवनशैली परिवर्तन गर्नुपर्ने भन्दै उनले विद्यार्थीमा जङ्क फुडसम्बन्धी नकारात्मक धारणा बस्न थालेको जानकारी दिए ।
ललितपुर पुल्चोकस्थित त्रिपद्म विद्याश्रम माविकी नर्स लीला महर्जन विद्यालय नर्स कार्यक्रमले विद्यार्थीको जीवनशैलीमा धेरै परिवर्तन ल्याउन सफल भएको बताउछिन् । १ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी आफ्नो स्वास्थ्यप्रति सजग बन्दै गइरहेको बताउँदै उनले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम वास्तवमा नेपालका हरेक विद्यालयमा लागू गर्नुपर्ने सुझाव दिइन् ।
१ सय २१ विद्यालयमा लागू गरिने
प्रदेश ३ मा एक नर्स एक विद्यालय कार्यक्रम प्रभावकारी भएपछि प्रदेश सरकारले १ सय १९ वटै स्थानीय तहमा कार्यक्रम लागू गर्न लागेको छ । यस प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले चालू आर्थिक वर्षबाट १ सय १९ वटा स्थानीय तहका १ सय २१ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्न लागेको जानकारी दिँदै त्यसको अन्तिम तयारी भइरहेको बताए । उनले कार्यक्रम थप प्रभावकारी बनाउन २० बाट बढाएर १२१ विद्यालयमा लागू गर्न लागिएको जानकारी दिए ।
देशैभर लागू गर्नुपर्छ
देश विकासमा स्कुल नर्स कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्छ । आजका लागि होइन, हामीले भोलिका लागि हेर्नुपर्छ । प्रदेश ३ सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासबाट लामो समयको छलफलपछि नर्स कार्यक्रम लागू गरेको हो । विस्तृत अध्ययन गरिसकेपछि विद्यालयमा नर्स हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौँ । स्वस्थ जीवनशैलीको विकास गर्नुपर्छ । यसले भोलिको पुस्तालाई राम्रो बनाउँछ । चुनौतीपूर्ण कार्यक्रम हो । प्रदेश सरकारले प्रमुख मान्यता दिएको छ । सङ्घीय सरकार, प्रदेश र स्थानीय तहको सरकारले प्रयासपछि सही छ भन्ने भइसकेपछि मात्र अन्य विद्यालयमा लागू गर्न लागिएको हो । कार्यक्रम शतप्रतिशत कार्यान्वयन गरेर लैजानुपर्छ । दिगो विकासका लागि यो कार्यक्रम लागू हुनैपर्छ । हामीले सञ्चालन गरेको कार्यक्रम सकारात्मक भएर प्रदेश १ र ३ बाहेक सङ्घीय सरकारले अन्य प्रदेशमा समेत नमुनाका रूपमा लागू गर्दै छ । गत वर्षको समीक्षा गर्दा कार्यक्रम प्रभावकारी भएको पाइयो । विद्यालय नर्स कार्यक्रमलाई स्थायी कार्यक्रमका रूपमा विकास गरेर लैजाने छौँ । विद्यालयमा नर्स कार्यक्रमले विद्यार्थीको जीवनशैलीमा धेरै परिवर्तन आएको छ ।
(आजको गोरखापत्र दैनिकबाट)