कोरोना महामारीविरुद्धको खोपको सुई र सिसीको व्यवस्थापन कसरी हुँदैछ ?

What's This?


Download our app to get more features

काठमाडौं, २८ माघ । पछिल्लो समयम कोरोना महामारी आएसँगै कोरोनाविरुद्वको खोप अभियानहरु तिव्र रुपमा चलिरहेका छन् । सरकारले खोप अभियानलाई सहज बनाउने उदेश्यका साथ अहिले विभिन्न स्थानहरुबाट खोप लगाइरहेको छ । 

दैनिक लाखौंभन्दा बढीलाई कोरोनाविरुद्वको खोप लगाइरहँदा त्यहाँबाट धेरै मात्रामा खोपको सुई र सिसीको फोहोरहरु निस्किरहेका छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गाना अहिले त्यस्ता फोहोरहरु अस्पतालहरुले नै व्यवस्थापन गरिरहेको बताउँछन् । 

स्वास्थ्यजन्य फोहोरको व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको र त्यो अनुमोदन भएपछि अलि सहज हुने उनको भनाइ छ । 

खोप अभियानको योजना बनिरहँदा त्यसबाट निस्कने फोहोर व्यवस्थापनको योजना बन्न चुकेको होे भन्ने प्रश्नमा ढुङ्गाना भन्छन,योजना नबनेको भन्न नमिल्ने तर केहि चुनौतिहरु आएको बताउँछन् । 

नेपालमा अहिलेसम्म ३ करोड बढीले कोरोनाविरुद्वको खोप लगाइसकेका छन । यसले के देखाउछ भने ३ करोड भन्दा बढी सुईहरु फोहोरको रुपमा निस्किएको छ । त्यस्तै एउटा खोपको सिसीमा औषत ८ देखि १० भायल हुन्छ । त्यसबाट लगभग ४३ लाख भन्दा बढी खोपका सिसीहरु फोहोरको रुपमा निस्किएका छन । 

कसरी गरिँदै छ सुई र सिसीहरुको व्यवस्थापन ?

कोरोना खोपबाट निस्केको फोहोरहरु अहिले अस्पतालहरुले नै व्यवस्थापन गरिरहेको ढुङ्गाना बताउँछन् । व्यवस्थापन गर्न सकिएन भनेर आएको फोहोरहरु शाखाले व्यवस्थापन गरिरहेको छ । काठमाडौं उपत्यकामा एकचरण फोहोरको व्यवस्थापन गरिसकेको र पुन पनि गर्न लागिएको ढुङ्गानाले बताए । 

नेपालमा भौगोलिक अवस्था हेरेर फोहोरको व्यवस्थापन भइरहेको उनको भनाइ छ । ढुङ्गाना भन्छन,‘सबै स्थानहरुमा स्वास्थ्यजन्य फोहोरलाई कीटाणुरहित बनाउने र पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने अवस्था छैन । तर सम्भव भएसम्म त्यस्ता फोहोरलाई कीटाणुरहित बनाउने र पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने गरेका छौं ।’ 

त्यसबाहेक माइक्रोवेभ प्रयोग गरी सुईहरूलाई नष्ट गर्ने पनि गरिएको उनले बताए । यस्ता उपकरण नभएका कतिपय ठाउँहरूमास्वास्थ्यजन्य फोहोरलाई सुरक्षित ढङ्गले खाल्डोमा जलाउने र त्यसलाई एउटा सानो डल्लोमा परिणत गरेर गाड्ने गरिएको उनको भनाइ छ ।

ढुङ्गानाका अनुसार कोरोना महामारी देखा परेयता विभिन्न साझेदार संस्थाको सहयोगमा अस्पतालहरुमा वासिङ मेसिनसहित अटोक्लेभ प्रणाली स्थापना गरिएको साथै जिल्ला अस्पतालहरूलाई फोहोर व्यवस्थापन प्रणाली स्थापनाका लागि सहयोग गरिएको छ ।

कति निस्किन्छ फोहोर ?

कोरोनाभाइरसको महामारी देखा परेयता नेपालमा ५२ लाखभन्दा बढी पीसीआर र ९ लाखभन्दा बढी एन्टीजन परीक्षण गरिएको छ ।

खोप अभियान प्रारम्भ भएपछि बिहीवारसम्म  ३ करोड ४८ लाख २५ हजार ६ सय १ मात्रा खोप लगाइएको छ । यो तथ्याङ्कलाई नै आधार मान्ने हो भने अनुमान बाहिरको परिमाणमा सुई, सिसी र प्रयोगशालाका फोहोरहरू निस्किएका छन् । 

ढुङ्गाना भन्छन,‘यति नै फोहोर निस्कियो भनेर भन्न सक्ने अवस्था छैन,फोहोरलाई के ले मापन गर्ने । सामान्यतया जति मात्रामा हामीले खोप लगायौँ, त्यति नै संख्यामा सुई निस्कने भयो । सिसीहरू चाहिँ अलि कम होला ।’

कतिपय ठाउँमा सुई तथा सिसीहरू सुरक्षित तरिकाले राखिएको उनले बताए । अहिले विभिन्न प्रदेशहरूमा ठूलो स्तरमा फोहोर नष्ट गर्ने क्षमता विकास गर्न लागेको उनी बताउँछन् । 

तर,हालसम्म त्यस्तो फोहोर कति व्यवस्थापन भइसक्यो भन्ने तथ्याङ्क सरकारसँग पनि छैन । 

फोहोर व्यवस्थापनमा के छ चुनौती ?

फोहोर व्यवस्थापन सबैको जिम्मेवारी हो भनेर बुझन आवश्यक रहेको ढुङ्गाना बताउँछन् । फोहोरको व्यवस्थापनमा एउटा निकायले मात्र नभइ सबै जना लाग्नुपर्ने उनको भनाइ छ । 

स्थानीय स्वास्थ्य संस्थाहरुको फोहोर व्यवस्थापनमा स्थानीय सरकार लाग्नुपर्ने साथै ठुला अस्पतालहरुमा फोहोर व्यवस्थापनका लागि छुट्टै व्यक्ति तोकिएमा सहज ढङ्गबाट फोहोर व्यवस्थापन गर्न सकिने उनी बताउँछन् । 

कोरोनाविरुद्वको खोप अभियान तिव्र रुपमा चलिरहँदा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको क्षमता अभिवृद्धिका क्षेत्रमा थप कामहरू गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि निर्देशिका बनाइएको र त्यससम्बन्धी मापदण्ड समेटिएको अर्को दस्ताबेज प्रधानमन्त्री कार्यालयमा रहेकोले पनि काम गर्न असहज भएको उनले बताए । उक्त दस्ताबेज आएमा काम गर्न सहज हुने उनको भनाइ छ । 

स्वास्थ्यजन्य फोहोरबाट मानवस्वास्थ्यमा कस्तो असर पर्छ ?

सुई र सिसीजस्ता सामग्रीको सही व्यवस्थापन नभए त्यसबाट चोटपटक लाग्ने र संक्रमणहरु सर्ने जोखिम रहन्छ ।

धारिलो खालका स्वास्थ्यजन्य फोहोरहरूमा रगत, शरीरबाट निस्कने तरल पदार्थ, सूक्ष्म आनुवंशिक सामग्री वा रसायन मिसिएको हुनसक्ने भएकाले तिनलाई उचित ढङ्गले व्यवस्थापन गरिनुपर्ने सरकारी मापदण्डमा उल्लेख छ ।

तर, नेपालमा कैयौँ स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन निर्देशिकाको पालना नगरेको र वातावरणीय प्रभावको मूल्याङ्कन समेत नगरी फोहोर व्यवस्थापन गर्ने पाइएको छ ।

Last modified on 2022-02-11 15:09:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts