स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य नीति परिमार्जन गर्नुपर्छ : प्रचण्ड
चितवन, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य नीति परिमार्जन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले शुक्रबार आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् ।
उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको बताए । दाहालले भने, “राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।”
संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उनले भने , “संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन ।” आफूहरुले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उनले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताए ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अबौं लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उनले बताएका थिए ।
क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा बोल्दै उनले क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव नभएको बताए ।
भरतपुर अस्पताल केन्द्रीय अस्पताल भए पनि दरबन्दी र भौतिक पूर्वाधारमा काम हुन नसकेकाले अब यस अस्पताललाई पनि एकीकृत प्रतिष्ठानभित्र राखेर सुविधासम्पन्न र व्यवस्थित बनाउनुपर्ने उनले बताए । नेपाल आफैँले कोरानाविरुद्धको खोप उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने प्रचण्डले बताएका छन् । उनले भने, “आफ्नै खोप उत्पादन हुनुपर्छ, चितवनमा भए अझ राम्रो ।”
अध्यक्ष दाहाल चार दिनदेखि गृह जिल्ला चितवनमा रहेका छन् ।