अब अति संवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा राखेर उपचार गर्छौ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा संक्रमण फैलिदै जाने दर बढेकाले अब सरकारले अति संवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा उपचार गर्ने बताएका छन् । उनले सामान्य लक्षण समेत देखा नपरेका संक्रमितहरूलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने बताएका छन् ।
अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भेन्टिलेटर हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन् । सो संस्थाले मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका विरामीहरुको उपचारको लागि सहयोग पु¥याउने उद्देश्यसहित चु जी फाउण्डेशनले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए । उनले कुल एक करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । सो क्रममा मन्त्री ढकालले कोरोना संक्रमितको उपचारलाई ध्यान दिदै भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे ।
पछिल्लो समय देशभर दुई हजार दुई सय भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । कोभिड–१९ संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सेवासहितको उपचार कक्ष आवश्यक पर्छ । मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तिब्रता दिएको अवस्थामा भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री सहयोग प्राप्त हुँदा मनोबल बढेको बताए ।