सुदूरपश्चिममा सोमवार भेटिएका कोरोना संक्रमितको सूची सच्याइयो

काठमाडौं, २० जेठ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको ठेगाना सार्वजनिक गर्दा त्रुटि भएको पाइएको छ ।
सोमवार सेती प्रादेशिक अस्पताल प्रयोगशालाले दिएको ठेगानामा कोरोना भाइरस संक्रमितको ठेगामा त्रुटि भएको भन्दै आज ठेगाना सच्चाइएको छ । सेती प्रयोगशालाबाटै गलत ठेगाना सहितको विवरण आउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि त्यहि ठेगाला उल्लेख गरेको थियो ।
सोमवार कोरोना पुष्टि भएका सुदूरपश्चिमका १८ जना मध्ये १४ जना संक्रमित कैलालीका रहेको जनाइएको प्रयोगशालाले आज सच्चाउँदै ती मध्ये चार जनाको घर डोटी भएको जनाएको छ । कैलालीका भनिएका १४ संक्रमित मध्ये दुई जना महिला र दुई जना पुरुष डोटीका रहेको खुलेको हो । डोटीको केआईसिंह गाउँपालिकाका पाँच वर्षका बालक र २८ वर्षका पुरुष तथा दुई वर्षका बालिका र २७ वर्षका महिलामा संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ ।
यसअघि उनीहरुलाई गौरीगंगा नगरपालिकाको भनिएको थियो । संक्रमित व्यक्तिले यसअघि क्वारेन्टाइनको ठेगानालाई नै स्थायी ठेगाना दिएकाले त्रुटि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
यसैगरी कैलालीका अन्य संक्रमितको ठेगानमा पनि त्रुटि भएको छ । धनगढीका २५ वर्षका संक्रमित वडा नम्वर १२ का नभएर वडा नम्बर १० का रहेको खुलेको छ । यसअघि गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा पनि संक्रमित फेला परेको भनिएकोमा अहिले वडा नम्बर र्दुइ र चारमा मात्रै संक्रमित फेला परेको सेती अस्पतालले जानकारी दिएको छ ।
कैलालीमा संक्रमण पुष्टि भएका १४ जनालाई सेती अस्पतालमा ल्याइएको छ ।