प्रदेश २ मा कोरोना संक्रमित ६९५ पुगे, आज मात्रै थपिए ८२ संक्रमित

धनुषा, १९ जेठ । प्रदेश २ मा सोमबार एकै दिन ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेश २ बाट संकलित नमुना विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ८२ जनामा कोभिड–१९ पुष्टी भएको हो ।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरी राजगढ़ गाउँपालिकाका १२ जना पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाईनमा रहेका पाँच जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
धनुषा धनौजी शंकर मावी क्वारेन्टाईनमा रहेका चार जना, प्रादेशिक अस्पताल जनकपुरमा एक जना र हंसपुर नगरपालिकाका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाईनमा रहेकाका दुई जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाही जिल्लाको जनता मा.वि अगरवा क्वारेन्टाईनमा ३२ जना, कविलासी नगरपालिकाका चार जना र हरिपुर नगरपालिकाका २ जना संक्रमिति भएको जनाइएको छ । जसमध्ये तीन जना महिला छन् ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षण विवरणअनुसार रौतहट पौराहा नगरपालिकाका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाईनका चार जनामा कोरोना देखिएको छ । जसमध्ये यमुनामाईस्थित क्वारेन्टाईनका एक जना महिला संक्रमित भएकी छिन । प्रदेश २ मा कोभिड संक्रमितको जम्मा संख्या ६९५ पुगेको छ भने उपचारपछि डिस्चार्ज हुनेको संख्या ९८ रहेको छ ।