हारगुहार गर्दा पनि पाइँदैन मानसिक अस्पतालमा ‘बेड’



Download our app to get more features

काठमाडौं, फागुन ९ ।  लगनखेलस्थित मानसिक अस्पतालमा शैया अभावका कारण दैनिक सयौं बिरामी फर्किने गरेका छन् । अस्पतालमा हाल ५० शैया मात्रै रहेको छ ।

तर, अस्पतालको बहिरङ्ग विभागमा दैनिक १ सय ५० देखि २ सयसम्म मानसिक बिरामी उपचारका लागि आउने अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले बताए ।

अस्पतालले बेड नभएको जानकारी गराउँदा बिरामीका परिवार रुँदै हारगुहार गर्ने गरेको अधिकारी बताउँछन् । 

अस्पतालमा भएका शैया कुनैदिन पनि खाली नहुने भन्दै उनले अस्पतालमा भर्ना भएका एकजना बिरामी अस्पतालबाट डिस्चार्ज हुँदा अर्को लाइनमा भइरहने बताए ।

बिरामीका परिवारका सदस्यले कडा मानसिक रोग लागेकालाई घरमा राख्दा आफू स्वयं र अरुलाई समेत क्षति पुर्याउने भन्दै अस्पतालमै राखेर उपचार गर्न चाहेको बताउँछन् ।

अस्पताल परिसरमा भेटिएकी ६१ वर्षिय साइँली तामाङले आफ्नो २२ वर्षीय छोराको अकस्मात मानसिक सन्तुलन बिग्रिएपछि मानसिक अस्पतालमा ल्याइन्  । गाउँलेको सल्लाहमा छोरालाई निको हुने आशा बोकेर अस्पताल  छिरिन् ।

उपचारका क्रममा मानसिक रोग विशेषज्ञले अस्पतालमै राखेर उपचार गर्नुपर्ने सल्लाहा त दिए । तर, उनले अस्पतालमा शैया अभाव भएको जानकारी पाइन् । ‘यत्रो अस्पतालमा पनि बेड अभाव भएर उपचारका लागि कुर्नुपर्ने हुँदा निकै दुःख लाग्यो’ उनले भनिन् ।

अस्पताललाई पटक–पटक आग्रह गरेपछि बल्ल २० दिनपछि दैनिक ५० रुपियाँ दिनुपर्ने शैया उपलब्ध भएको पीडित तामाङले दुखेसो पोखिन् ।  यसरी शैया अभावकै कारण दैनिक सयौं बिरामीलाई फर्काउनुपर्ने अस्पतालको बाध्यता छ । 

पछिल्लो समय कडा खालका मानसिक बिरामीको चाप बढेसँगै  शैया अपर्याप्त भएको हो ।

बिरामीको चाप बढेपनि  अस्पतालमा  ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ मानसिक रोग विशेषज्ञको समेत अभाव हुँदा अस्पताल दोहोरो समस्या भोग्न बाध्य छ ।

‘पर्याप्त शैया नहुँदा धेरै बिरामीलाई घर पठाएर पालोमा राख्नुपर्ने बाध्यता त छँदै छ,’ साइक्याट्रिस्ट अधिकारीले भने ‘जनशक्ति पनि दरबन्दीभन्दा कम कार्यरत हुँदा अस्पतालमा धेरै समस्या भइरहेको छ ।’

एकातिर बिरामीको चापअनुसार दरबन्दी पर्याप्त नभएको र त्यसमा पनि दरबन्दीभन्दा तीनजना कम कार्यरत हुँदा जनशक्तिको अभाव भएको उनले प्रस्टाए । 

मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भएपनि मात्र आठजना  मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको अस्पतालका डा.अधिकारी बताउँछन् । 

उनले बहिरंग र अन्तरंग विभाग दुवैतिर आउने बिरामी बढेपनि सो अनुपातमा मानसिक रोग विशेषज्ञको दरबन्दी नबढेको बताए ।

प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट  अधिकारीका अनुसार अस्पतालले कडा खालका मानसिक बिरामीलाई अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने र सामान्य बिरामीलाई औषधि दिएर घर फर्काउने गरेको छ ।

उनले अस्पतालको शैया र जनशक्ति दुवै बढाउन स्वास्थ्य सेवा विभागलाई प्रस्ताव गरिसकेको बताए ।

प्रमुख कन्सल्टेन्ट अधिकारीका अनुसार शैया अपुग भएको भन्दै अस्पतालले स्वास्थ्य सेवा विभागसँग ३ सय शैया माग गरेको छ भने विशेषज्ञका लागि पनि प्रस्ताव गरेको छ ।

 

Last modified on 2019-02-22 07:05:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts