धेरै गुलियो खाएमा यसरी विग्रन्छ दाँत !



Download our app to get more features

काठमाडौं ४ फागुन ।  दाँत हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । दाँत नभएमा हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसमा अनेक समस्या देखिन थाल्छ ।  दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन  ।

मानिसलाई सुन्दर बनाउने काम पनि दाँतले गर्छ । यदी दाँत छैन भने मानिस उमेर नै नपुगेता  पनि बुढो मानिस जस्तै देखिन्छ ।

दाँतलाई स्वस्थ राख्नको लागि नियमित रुपमा यसको हेरविचार गर्न आवश्यक हुन्छ । दातँको राम्ररी हेरविचार गरेन भने, दाँतमा कीरा लाग्ने, बिग्रने जस्ता समस्या आउँछन् ।  अझ गुलियो बढी खाएमा त झन् चाँडै दाँत बिग्रन्छ ।

गुलियो धेरै खानाले  कसरी बिग्रन्छ दाँत ?

स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुको कारण यसको बाहिरी भागलाई ढाक्ने कडा बस्तु दाँतलाई बाहिरबाट इनामेल -Enamel) हो । इनामेल सेतो रंगको हुन्छ  । यो नै हाम्रो शरीरको सबैभन्दा कडा बस्तु हो । इनामेलले ढाकेको भन्दा भित्रपट्टिको दाँतको भागलाई डेन्टाइन (Dentine) भनिन्छ ।

यो भाग चाहिँ इनामेल जस्तो कडा हुँदैन । यो भाग नरम हुने भएकोले मौका पाएमा कीटाणुहरु सजिलै यसमा पस्न सक्दछन् । दाँतको यस भागलाई इनामेलले छोपेर राख्ने हुनाले सजिलै यस भागमा कीटाणु पस्न सक्दैन ।

डेन्टाइनभन्दा तलको दाँतको भागलाई पप क्याभिटी (​​​​​​​Pup Cavity) भनिन्छ । गिजाभन्दा बाहिर निस्केको दाँतको भागलाई क्राउन (Crown)  भनिन्छ ।

हाम्रा मुखभित्र लाखौंको संख्यामा कीटाणुहरु हुन्छन् । मुखमा हुने यस्ता कीटाणुहरुलाई ब्याक्टेरिया भनिन्छ । यी ब्याक्टेरियाहरुमध्ये धेरैजसो मानिसका लागि फाइदाजनक हुन्छन् ।

किनभने, यिनीहरुले खानेकुरालाई टुक्र्याएर, गलाएर मानिसले सजिलै पचाउन सक्ने बनाइदिन्छ । तर साथसाथै, कतिपय ब्याक्टेरियाहरु चाहिँ हानी गर्ने खालका पनि हुन्छन् ।

मुखमा हुने ब्याक्टेरियाहरुमध्ये एसिड उत्पादन गर्ने ब्याक्टेरियाहरु (Acidogenic bacteria) हरु चाहिँ दाँतका लागि शत्रु नै हुन्छन् ।

इनामेल हाम्रो शरीरकै सबैभन्दा कडा बस्तु हो । तर यस्तो कडा बस्तुलाई पनि अमिलो वा एसिडले खियाइदिने गर्छ ।

हामीले अमिलो खाँदा दाँत कुडिनुको मुख्य कारण पनि अमिलोले इनामेललाई खियाइदिएकैले हो । वास्तवमा, डेन्टाइन दाँतको अति संवेदनशील भाग हो ।

हामीले कुडिएको महसूस गर्नुको कारण पनि हामीले खाएको वा पिएको खानेकुराले डेन्टाइनलाई छुन पुग्दा नै हो ।

रमाइलो कुरा के छ भने, दाँतमा इनामेल बन्ने काम चाहिँ निरन्तर चलिरहेको हुन्छ । त्यसैले अमिलोले खियाइदिएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ ।

अनि हाम्रो कुडिएको दाँत पनि ठीक भएर जान्छ  ।सबैले भन्ने गर्छ, धेरै गुलियो कुरा खानु हुँदैन । चिनी, चकलेट धेरै खायो भने दाँतमा कीरा लाग्छ भनेर। यो कुरा सही पनि हो ।

किनभने, हामीले गुलियो वस्तु खाँदा त्यसका केही अंशहरु हाम्रो दाँतमा अड्किएर बसेको हुन्छ । धेरैजसोको गुलियो खाएपछि दाँत ब्रस गरिहाल्ने बानी हुँदैन ।

गुलियो नखाने मानिसको दाँत पनि नियमित सफा गरेन भने दाँतमा कीरा लाग्ने गर्छ किनभने खानेकुराहरुमा पाइने कार्बोहाइड्रेड पनि गुलियो कै एक रुप हो ।

यसरी गुलियो खाँदा वा नखाँदा पनि दाँत सफा गरेन भने कीरा लाग्नुको कारण चाहिँ त्यसैले त्यस्तो गुलियो वस्तुहरु वा कार्बोहाइड धेरै बेरसम्म दाँतमा अड्केर बसिबस्नु नै हो ।

त्यसरी दाँतमा अड्किएको गुलियो वा कार्बोहाइड्रेडलाई मुखमा हुने एक किसिमको व्याक्टेरियाले अमिलो (एसिड)मा बदलिदिन्छ ।

 यसरी दाँतमा अमिलो बन्यो र केहीबेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाइदिन्छ ।

धेरै गुलियो खानेहरुको दाँतमा कीरा लाग्नु वा दाँत बिग्रनुको खास कारण नै यही हो । किनभने धेरै गुलियो खानेहरुले सधैं दाँत सफा गरिबस्दैन । सधैं दाँत सफा नगरेपछि उनीहरुको दाँतमा ब्याक्टेरियाले अमिलो बनाइदिइबस्छ ।

यसरी दाँतको इनामेल अमिलोले खियाइदिएपछि दाँतको नरम भाग डेन्टाइनमा सजिलै अरु हानिकारक व्याक्टेरियाहरु पस्न पाउँछ । त्यसरी डेन्टाइनमा पसेको व्याक्टेरियाले गर्दा हाम्रो दाँत अति नै दुख्ने गर्छ भने दाँतमा कालो कालो प्वाल नै पर्न पनि सक्छ ।

दाँतमा परेका त्यस्ता प्वालहरुलाई हामी कीरा लागेको भन्ने गर्छौं । दाँतमा लागेको कीरालाई बेलैमा उपचार गरिएन भने ब्याक्टेरियाको आक्रमणले दाँतको अझ भित्री भागहरुमा, जराहरुमा र दाँतसम्म आएका नसाहरुमा घाउ बनाइदिन सक्छ ।

दाँतको इनामेल नयाँ निर्माण भइरहेको हुन्छ तर पूरै दाँत आफैं पुनर्निर्माण हुन सक्दैन । त्यसैले दाँतमा कीरा लागिहाल्यो भने दाँतको डाक्टरलाई देखाइहाल्नुपर्छ ।

–स्रोतः एम.एस. इन्कार्टा, बालविज्ञान प्रश्नोत्तर
 

Last modified on 2019-02-17 07:13:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts