सङ्खुवासभा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित



Download our app to get more features

सङ्खुवासभा, ३० कात्तिक । जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । 

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो ।डा युवराज बस्नेत दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेको र डा शैलीका श्रेष्ठ पनि बिदामा छन् । 

सोमबार खाँदबारी नगरपालिका–४ का प्रसूति सेवाका लागि बिरामी ल्याउनुभएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि उनलाई समस्या पर्योे । अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावका कारण अन्यत्र लान नसकेको उनको गुनासो थियोे । उनी मात्र होइन प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् । 

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन । अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुगिने बताए । 
रासस

Last modified on 2018-11-16 12:01:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts