काठमाडौंमा धुँवाधुलोको असर : खोकीको उपचार समेत चिकित्सकको पहुँच बाहिर 



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । काठमाडौंको बढ्दो प्रदुषणले यस्तो विकराल रुप लिएको छ की सामान्य खोकी लागे पनि निको हुन महिनौं  लाग्न थालेको छ । तत्काल सामान्य रुघाखोकी देखिए पनि यहाँको प्रदुषणले विभिन्न दीर्घकालीन समस्यालाई मलजल गरिरहेको चिकित्सकहरुको भनाइ छ । 

चिकित्सकहरुका अनुसार उपत्यकामा बढ्दै गएको धुलो र अव्यवस्थित सवारी साधनबाट निस्किएको धुवाले अधिकांश मानिस दीर्घरोगको शिकार बनिरहेका छन् । सामान्य अवस्थामा पाँच दिनमा ठिक हुने रुघाखोकी निको हुन दुई महिनासम्म लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा. योगेन्द्र प्रसाईका अनुसार रुघा, खोकी र छाती दुख्ने जस्ता समस्याको उपचार चिकित्सकको पहुच बाहिर पुगेका छन् । 

तर, चिकित्सकमाथि खनिन्छन् बिरामी
धुँवा धुलो र प्रद्षणले रोग निको हुन धेरै समय लाग्न थालेपछि सेवाग्राहीहरु भने चिकित्सकमाथि आक्रोश पोख्न थालेका छन् । नियमित स्वास्थ्य परीक्षण गर्दै आए पनि किन ठिक हुँदैन भनेर सेवाग्रही चिकित्सकमाथि जाईलाग्न थालेको चिकित्सकहरुको भनाइ छ । 
रुघा खोकी समेत ठिक पार्न नसकेको भन्दै बिरामी र उनका आफन्त चिकित्सकमाथि जाईलाग्न थालेका हुन । ‘एउटा खोकी पनि निको पार्न नसक्ने कस्तो डाक्टर भन्दै रिसाउँछन् ।’ बिरामीको भनाई उदृत गर्दै डा. प्रसाईले भने । केही वर्षअघिसम्म पाँच दिनमा निको हुने त्यही खोकी अहिले आधा वर्षसम्म लाग्ने गरेको उनी बताउँछन । खोकी लगेर आएका बिरामीमा क्षयरोग र निमोनिया भए नभएको हेरिन्छ तर, अधिकांश समस्या खोकी मात्रै छ ।

यसकारण खोकी निको हुन ढिलो
श्वास प्रश्वासका माध्यमबाट हावामा रहेका प्रदुषणका मसिन कणहरु शरीरभित्र जाने भएकाले महिनौं दिनसम्म खोकी लागिरहेने गरेको छ । ‘किटाणु भए प्याथोलोजीकल परीक्षणद्वारा बिरामी निको पार्ने हो । उनीहरु यही वातावरणमा फेरी हिडडुल गर्छन फेरी कणहरु प्रवेश गरी खोकी लाग्छ ,’ डा. प्रसाईले भने, ‘छातीको समस्या पटकपटक दोहोरिदा निको पार्न कठिन हुन्छ ।’

विकल्प दुई वटा मात्रै 
चिकित्सकहरुका अनुसार छाती र खोकीको समस्याबाट छुटकारा पाउने दुई वटा मात्रै विकल्प छन् । उपत्यकामा बढ्दै गएको प्रदुषण नियन्त्रण र घरबाहिर ननस्किने । डा. प्रसाई भन्छन, ‘चटक्कै ठिक हुन कि उपत्यका बाहिर जानु पर्छ । हैन भने घर बाहिर निस्कन रोक्नु पर्छ ।’ तर, चिकित्सकहरुले दिएका यस्ता सुझाव उपत्यकाबासीलाई सम्भव देखिदैन । उपत्यकामा प्रयोग हुने माक्स यहाँको पोलुसनलाई धान्ने खालको छैनन् । 

बिहान निस्कनु झनै खतरनाक 
काठमाडौंको वरिपरि डाडाहरु छन् । दिनभरि आकाशमा फैलिएका धुलोका कणहरु चहलपहल कम हुन थालेपछि यही खाल्डोमा जम्मा हुन थाल्छन । यसकारण बिहान मर्निङ वाकमा निस्कनेहरु रुघा, खोकी र छाती दुख्ने समस्याले बढी ग्रस्त भएका छन् । बिहान ५ देखि ६ : ३० सम्म सडकमा निस्कनु हँुदैन । 
प्रदुषणले ग्रसित वातावरणले निम्त्याएको सौगात हो । २ प्रतिशत जति अन्य रोगहरु हुन सक्छन् । दुई साता भन्दा बढी खोकी लागेको खण्डमा टिबी परीक्षण गर्दा राम्रो हुने उनीहरुको सुझाब छ । खाना रुच्न छाड्यो, ज्वरो आउन थाले र दुब्लाउदै गएको खण्डमा टिबी भए नभएको तत्काल परीक्षण गर्नुपर्छ । 
 

Last modified on 2018-11-15 11:38:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts