विश्व मधुमेह दिवस

मधुमेह : हरेक परिवारको सरोकार



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । ‘मधुमेह र परिवार’ भन्ने भावका साथ आज विश्वभर मधुमेह दिवस मनाइदैछ । मधुमेह दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । 
यही क्रममा तिलगंगा आँखा प्रतिष्ठानले यस वर्षको विश्व मधुमेह दिवसलाई ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ मनाइरहेको छ । प्रतिष्ठानले २५ देखि ३० कात्तिकसम्म मधुमेहले आँखामा पर्ने असर सम्बन्धी सचेतना सप्ताह आयोजना गरेको छ । तिलगंगाले अघिल्ला वर्षहरुदेखि नै सुरु गरेको डायबेटिक रेटिनोप्याथी दिवसलाई यसबर्ष पनि निरन्तरता दिने घोषणा गरेको हो । 

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस प्रकार २ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफुलाई मधुमेह भएको थाहै छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालिन असर प्रत्येक परिवारमा देखिने प्रायः निश्चित छ । त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षाप्रतिको भुमिकालाई व्यापक बनाउने अभियान अनुरुप यस बर्ष ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने नारा अनुरुप विश्वभर मनाईदैछ ।

मधुमेहले आँखामा पार्ने असर यी हुन्
डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब २ तिहाई बिरामीको आँखाको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुनसक्छ । जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरूमा असर गरि पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन्छ । संसारमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

मधुमेहले शरीरका अन्य भागहरु जस्तै आँखाको दृष्टि पर्दाको (रेटिना) रक्तनसाहरुमा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । मधुमेहले असर गर्दा सुुरुमा आँखाको पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । समयमै उपचार नभए अत्यधिक रक्तस्राव भई आँखाको दृष्टि सधैंका लागि गुम्न सक्छ । मधुमेहले गर्दा आँखाको रेटिनामा देखिने यी असरहरुलाई नै डाइबेटिक रेटिनोपेथी भनिन्छ । समयमै ध्यान नपुर्याउने हो भने यसको असरले दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउन सक्छ । मधुमेह रोगको पहिचान हुनासाथ र आँखा डाक्टरको सल्लाह अनुसर नियमित रुपमा परीक्षण गराऔ । 
 

Last modified on 2018-11-14 09:15:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts