के तातोपानीले नुहाउँदा रोग निको हुन्छ ? प्राकृतिक र आधुनिक चिकित्सामा मतभेद 



Download our app to get more features

काठमाण्डौ । यतिबेला म्याग्दीको तातोपानी कुण्ड निकै चर्चामा छ । नेकपा अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहाल हाइड्रोथेरापीका लागि परिवारका सदस्यसहित त्यहाँ पुगेसँगै यसको चर्चा सुरु भएको हो । उनको साथमा नेकपा अध्यक्ष प्रचण्ड, छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा थिए । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा बादलपनि श्रीमति नैनकला थापाका साथमा कुण्डमा पुगेका थिए । उनीहरुले त्यहाँ नुहाएको फोटो प्रचण्डकै सचिवालयले सार्वजानिक गरेको छ ।

बेनीनगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन गरेकाले सीता दाहाल लगायत त्यहाँ पुगेको प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ । 

के तातोपानीले नुहाउँदो रोग निको हुन्छ ? 
म्याग्दीको तातोपानी लगायत अन्य कयौं स्थानमा तातोपानीमा नुहाउने प्रचलन छ । तातोपानीले नुहाएमा शरीरका रोगहरु निको हुने आदिम जनविश्वास छ । यस्तो विश्वास नेपाल बाहेक युरोपेली मुलुकमा पनि विद्यमान छ । यसले नशाका समस्या, वाथरोग, छालाका समस्याहरु निको हुन्छ भन्ने गरिएको छ । 

तातोपानीले रोग कम गर्छ कि गर्दैन भन्ने बारेमा आधुनिक चिकित्सा विज्ञानमा भने अझै ठोस अध्ययन भएको छैन । नशारोग विशेषज्ञ डा. राजु पौडेलले तातोपानीले नुहाउँदा रोग निको हुन्छ भन्ने स्पष्ट आधार तय भइनसकेको बताए । उनले थपे, 'मोर्डन साइन्समा खासै त्यस्तो अध्ययन भएको छैन । वैकल्पिक चिकित्सा पद्धतीमा यो स्थापित भइसकेकाले यसका सम्भावित फाइदालाई नकार्न सकिँदैन ।' मूलतः तातोपानीमा नुहाउने विधि प्राकृतिक चिकित्सा पद्धतिमा प्रयोग छ । अर्का फिजिसियन डा. मिलेशजंग सिजापतिले नशाका केही समस्यामा तातोपानीमा नुहाउँदा फाइदा हुने बताए । खासै धेरै अध्ययन भएको छैन उनले भने तर, पछिल्लो समय प्रयोगहरु हुन थालेका छन् । 

प्राकृतिक चिकित्सा भन्छः जलचिकित्साले फाइदै फाइदा 
आधुनिक चिकित्सामा स्पष्टता नभएपनि प्राकृतिक चिकित्सामा चाहीँ तातोपानीमा स्नान गर्नुको फाइदै फाइदा छ । तातोपानीमा नुहाउनुलाई जलचिकित्सा भन्छन् प्राकृतिक चिकित्सक डा.जनक बस्नेतले भने, 'हाइड्रोथेरापी वा हिटथेरापी जे भनिएपनि यसका केही निश्चित फाइदा छन् । उनका अनुसार जलचिकित्साका मार्फत मूलतः तनावबाट सिर्जित समस्यामा न्यूनीकरण हुन्छ । त्यस्तै वाथ, हाडजोर्नीको समस्या, चिसोबाट उत्पन्न हुने समस्याहरुमा तातोपानीले बिरामीलाई नुहाइन्छ । अत्याधिक मोटा मान्छेलाई पनि हाइड्रोथेरापी फाइदाजनक हुन्छ ।' छालाका समस्यामा पनि केही हदसम्म सहयोगी हुने डा. बस्नेतले बताए । 

खासमा प्रचण्ड पत्नी सीता दाहाललाई अत्याधिक तनावका कारण नशाको जटिल प्रकृतिको समस्या भएको पहिचान भइसकेको छ । उनलाई पार्किन्सन भएको पनि आशंका गरिएको छ । उनले आफ्नो स्वास्थ्य उपचार पछिल्लो समय प्राकृतिक चिकित्सालयमा गरिरहेकी छिन् । 

Last modified on 2018-11-14 08:05:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts