रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्या

१५ देखि ४९ वर्षका एक चौथाइ महिलामा जिंकको कमी



Download our app to get more features

काठमाडौँ, ६ कात्तिक । छ महीनादेखि ५९ महीनाका १ सय बालबालिकामध्ये २१ जनामा जिंकको कमी रहेको भेटिएको छ । 

चिकित्सकका अनुसार जिंकको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसँग लड्न सक्ने क्षमतामा कमी ल्याउँदछ । प्रजनन् समूहका १५ देखि ४९ वर्षका एक चौथाइ महिलामा पनि जिंकको कमी रहेको एक अध्ययन सर्वेक्षणले देखाएको छ । ‘नेपालमा राष्ट्रिय सूक्ष्म पोषण तत्व नामक’ सर्वेक्षणले ती नयाँ तथ्य उजागर गरेका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न गरेको सो सर्वेक्षणको नतिजा हालै सार्वजनिक भएको थियो । पहिलो पटक सो सर्वेक्षण सन् १९९८ सम्पन्न भएको थियो । 

विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यकपर्ने सूक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सूक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ । 

सर्वेक्षणमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ । किशोरमा रक्तअल्पता र आइरनको मात्रा के–कति छ, त्यस सम्बन्धमा पहिलो पटक अध्ययन भएको अध्ययनमा संलग्न परिवार स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए । 

नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन । सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ । छ देखि ५९ महीनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेको अध्ययनले देखाएको छ । 

हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा भनिएको छ, “रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा देखिएको छ । यो सङ्ख्या २७ प्रतिशत छ ।” 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिकता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ । 

विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशुमृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ । 

सर्वेक्षणले छ देखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष उमेरका ४० प्रतिशत महिला र १४ प्रतिशत किशोर एंव १६ प्रतिशत किशोरीमा हेलिकोब्याक्टर (एच) पाइलोरीको सङ्क्रमण पाइएको छ । महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो । 

चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ । सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई–मधेशमा रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ । 

बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छ देखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्षका तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी पाइएको छ । 

महिला तथा बालबालिकाको पोषणमा सुधार गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पोषण शाखाका प्रमुख पराजुलीले जोड दिए ।

 

रासस

Last modified on 2018-10-24 07:42:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts