कान्ति बाल अस्पतालमा चरम संकट, निर्देशक भन्छन्ः मन्त्रिज्यूले मिलाउँछु भन्नुभाको छ



Download our app to get more features

काठमाण्डौ, २३ असोज । महाराजगञ्जमा अवस्थित कान्ति बाल अस्पताल चरम संकटमा परेको छ । पर्याप्त चिकित्सक नहुनेदेखि कर्मचारीले तलबसमेत खान नपाउने अवस्था छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कुनै चासो दिएको छैन ।

कान्ति बाल अस्पताल स्थापनाकालदेखि नै समस्या नै समस्याको भुमरीमा फसेको छ । अस्पतालको समस्याको बारेमा स्वास्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समाधानको उपाय खोजिएको छैन । बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्ने पुरानो र पहिलो केन्द्रिय सरकारी अस्पताल कान्ति बाल अस्पताल हो । यहाँ देशको कुना कुनाबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । कान्ति अस्पतालले सेवासुविधाहरु नागरिकलाई प्रदान गर्न थालेको समयदेखि नै विभिन्न खाले समस्याको चपेटामा अस्पताल पर्दै आएको छ । कान्ति बाल अस्पतालमा ३९ जना चिकित्सकको दरबन्दी छ । तर ५ जना चिकित्सक मात्रै कार्यरत छन् । अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले भने, ‘पछिल्लो ११ वर्षदेखि चिकित्सक अभाव हुँदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले भने चिकित्सकको व्यवस्था गर्न सकेको छैन । उपचार धेरै प्रकारका रोगको गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिकित्सक नै छैनन् ।’ 

अस्पतालको समस्या चिकित्सक अभाव मात्रै होइन, अरु धेरै समस्या छन् । गम्भीर प्रकृतिका विरामीलाई उपचार गराउनु पर्दा आइसियुको सुविधा समेत पर्याप्त छैन । दैनिक १० जना विरामी आइसियुमा उपचार गराउनुपर्ने स्थिती भए पनि हाल तीन वटा मात्रै आइसियु छ । 

समस्या यतिमै सीमित छैन । नर्सहरुको समेत  अभाव छ । अझै जटिल समस्या त के छ भने अबको २ महिनापछि अस्पतालमा कार्यरत कर्मचारीले तलबसमेत नपाउने स्थिति छ । तर स्वास्थ्य मन्त्रालय भने बेखबर जस्तै छ । अस्पतालका निर्देशक डा. गणेश कुमार राईले अस्पतालका समस्याका बारेमा तत्काल बोल्न नमिल्ने बताए । उनले भने ‘मन्त्रीज्यूले २ महिनाभित्र समस्या समाधान गर्ने वचन दिनुभएको छ । समस्या त छ, दुई महिनाभित्र समाधान गर्ने आश्वासन पाएको छु । अहिले केही नबोलौं ।’

अस्पताल अस्तव्यस्त हुँदा त्यसो फाइदा नजिकका निजी अस्पतालले उठाएका छन् । कान्तिको व्यवस्थापन र उपचार सेवा कमजोर बन्दै गर्दा देशभरबाट रिफर भएर आएका गरिब विपन्न बिरामी महंगो पैसामा निजी अस्पतालमा जान बाध्य छन् ।  

आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घाटन गरेर तत्कालीन सोभियत संघ सरकारको सहयोगमा स्थापना भएको हो । कान्ति बाल अस्पताल काठमाडौंको महाराजगन्जमा करिब ९६ रोपनी क्षेत्रफलमा अवस्थित छ ।
 

Last modified on 2018-10-09 17:08:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts