विश्व फर्मासिस्ट दिवस

औषधिको विवेकपूर्ण प्रयोगको खाँचो



Download our app to get more features

आज विश्व फर्मासिस्ट दिवस, फर्मासिस्टहरुका लागि विशेष दिन । २५ सेप्टेम्बरका दिन विश्वभरका फर्मासिस्टहरुले यो दिवस मनाउने गर्छन् । ‘फर्मासिस्टः तपाईंको औषधि विशेषज्ञ’ भन्ने नाराका साथ यसवर्ष नेपालसहित विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

औषधिविनाको उपचार सम्भव छैन । त्यो तपाईं–हामी सबैले बुझेको कुरा हो । अनि त्यही उपचार गर्ने औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् फर्मा्सिष्ट अर्थात् औषधिविज्ञ । विश्वमा स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी । तर विडम्बना नेपालमा त्यस्तो हुन सकेको छैन । कानुन छ, तर कारवाही हुँदैन । हुन्छ त केवल नेपालको कानुन दैवले जानुन । नियम बन्छ, तर कार्यान्वयन हुँदैन  । जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ । सबै क्षेत्र केवल बन्छ त अस्तव्यस्त मात्र । अनि कसरी हुन्छ विकास ? यसको जिम्मेवार निकाय को ? अनि कसले गरिदिने त्यसको अनुगमन ? अनि टाउकोमा हात राखेर भन्न बाध्य बनाइन्छ बिग्रिएको घरको भत्किएको चाला । 

एउटा चिकित्सकले एकचोटि गरेको गल्तीले एक जना बिरामीको स्वास्थ्यमा असर पर्छ, तर एउटा फर्मा्सिष्टले त्यही एकचोटि गरेको गल्तीले हजारौँ बिरामीको स्वास्थ्यमा असर पर्छ । ‘त्यसकारण सधै संयमित भएर पढ्ने गर ।’ एक जना शिक्षकले बि. फार्मेसी कक्षा सुरु भएको पहिलो दिन भन्नुभएको थियो । ‘अहो ! कसरी ?’ मैले निकै उत्सुकताका साथ प्रश्न गरेँ ‘औषधि कम्पनीले एक ब्याचमा लाखौंको संख्यामा औषधि उत्पादन गर्छ । त्यस समयमा फर्मा्सिष्टबाट एउटा सानोमात्रै गल्ती हुन पुग्यो भने उक्त औषधि सेवन गर्ने सबै बिरामी मारमा पर्छन । ‘त्यति मात्र होइन हो, तिमीहरूले पत्ता लगाएको कुनै एउटा नयाँ औषधि राम्रोसँग अध्ययन नै नगरी बजारमा आयो भने त्यसको असर कति बिरामीमा पर्ला ? आफैँ सोँच त, त्यसकारण आफ्नो पेसाको संवेदनशीलतालाई कहिल्यै नभुल्नु ।’ उहाँले भन्नु भएको थियो । 

औषधि नपाउनु भन्दा गलत औषधि पाउनु खतरा 
विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने औषधि खान नपाएर भन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर पर्नेहरूको संख्या बढी छ । कारण हो, औषधिको विवेकपूर्ण प्रयोग नहुनु । हामी चिकित्सक र फर्मा्सिष्टको सल्लाहविना नै आफूखुसी वा हचुवाको भरमा औषधि प्रयोग गछौं । अझै भनौं आफ्नो घर वा छिमेकमा कोही बिरामी पर्दा ल्याएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जचाउनु प¥यो भन्दै त्यसको प्रयोग गर्छौँ । त्यो औषधि आफूले प्रयोग गर्नु हुन्छ कि हुँदैन, त्यसको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्ने जस्ता कुरामा ध्यान दिँदैनौं । जसको कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्या समेत नआउला भन्न सकिँदैन ।

जथाभावी प्रयोगले औषधिको प्रभाव कम 
अनावश्यक रूपमा एन्टिबायोटिक्स्को प्रयोग गर्नु, औषधि पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नु जस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधिले पुरा काम गर्न छाडेको छ । यो नेपालको मात्रै होइन विश्वभरको समस्या हो । बच्चा जन्मेदेखि नै हाइ–डोजको एन्टिबायोटिक्स् प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । ‘मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहि दिनोस् ।’ प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? विचरा त्यो अबोधका आमा–बाबुलाई के थाहा । त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । औषधिको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधिको अन्धाधुन्ध प्रयोग गर्दै जाने हो भने कुनै दिन यसले काम गर्न छाडछ । नयाँ प्रभावकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संकटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मा्सिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी उपभोक्ता र सबै जना सचेत बन्नु आवश्यक छ । हस्पिटलका फार्मेसीहरू निजीकरण गरिनु, जसले गर्दा आम उपभोक्ता औषधिको गुणस्तर र मूल्यमा ठगिनु परेको गुनासाहरू आउने गरेका छन् ।

देशका होनाहार युवायुवतीहरू लागू औषधिको दुव्र्यसनमा फस्नु, स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मी स्वयम् यसबाट अछुतो नरहनु, गर्भ्निरोधक, ७२ घण्टे आकस्मिक चक्की अस्थायी साधनका रूपमा प्रयोग गरिनुलाई युवापुस्ताले फेसन नै बनाएका छन् । जसको कारणले औषधिको दीर्घकालीन असर हुनाका साथै त्यस्ता व्यक्तिहरूले सावधानी नअपनाउँदा यौनजन्य सरुवा रोगको प्रकोप बढ्ने उच्च जोखिम समेत उत्तिकै देखिन्छ । विना दर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाहरूको पनि आफ्नो लाइसेन्स नहुनु, औषधि बिक्री–वितरण गर्दा फर्मा्सिष्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधिहरू सञ्चालन भइराख्दा पनि विभिन्न कानुन हुँदाहँुदै पनि औषधिको हालीमुहाली सुम्पिएर बसेको संस्था औषधि व्यवस्था विभाग मँ पिटे झैँ गर्छु तँ रोए झैं गर्नु भनेजस्तै गरेर मूकदर्शक बनेर बसेको छ । यो लाचारीपन कहिलेसम्म रहने । फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् । औषधिलगायत औषधिजन्य पदार्थहरूको लागि विदेशको मुख ताक्नु पर्ने अवस्था आगामी दिनहरूमा नआओस् ।

देशमा थुप्रै सम्भावनाहरू छन् त्यस्ता सम्भावनाहरू खोजी गर्न तथा औषधिजस्तो संवेदशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासमा फर्मा्सिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यस मातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ । औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुरा कहिल्यै नभुलौँ । बिरामीको उपचार गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीको मूल उद्देश्य हो, त्यसको लागि हातेमालो गरौं । कोही उपचारबाट बञ्चित हुन नपरोस् । स्मरण रहोस् ‘सेवा नै ठूलो धर्म हो ।’

फार्मेसी लगायत समग्र स्वास्थ्य क्षेत्रको सुधारको निम्ति एकजुट भएर अघि बढौँ, आफ्नो पेशाप्रति सदैव संयमित एवं कर्मनिस्ठ भएर लाग्ने प्रेरणा मिलोस् । सबै फर्मासिस्ट, असिस्टेन्ट फर्मा्सिस्टलगायत फार्मेसी क्षेत्रका सम्पूर्ण आदरणीय महानुभावहरूलाई विश्व फमासिस्ट दिवसको लाखौं–लाख शुभकामना ।
 

Last modified on 2018-09-25 13:17:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts