सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव



Download our app to get more features

नेपालगञ्ज, ३ भदौ  ।“छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो व्यथा यसरी सुनाइन । 

शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ । यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ । 

पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन । तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारु समुदायमा यो रोग बढी देखिएको छ । “सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भए पनि यो अलि कडा खालको हुन्छ,” भेरी अञ्चल अस्पतालमा डा राजन पाण्डेबताउछन्  । 

“जीवनभर ओखती खाइरहनुपर्ने यसका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र ओखतीको व्यवस्था मिलाउनु पर्छ,” बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ । सरकारले यो रोगको परीक्षण र उपचार गर्न नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथामिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ । 

“सिकलसेल एनिमिया भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन । तर, चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन । बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहन सके यसका रोगी सामान्य जीवन बाँच्न सक्छन्,” भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सुझाव छ । 

नेपालमा सिकलसेल एनिमिया रोग पत्ता लगाउने पहिलो चिकित्सक डा पाण्डेका अनुसार यसको उपचार क्रममा १२ ले ज्यान गुमाइसके । भेरी अञ्चल अस्पतालमा २१५ को उपचार भइरहेको छ । तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । पश्चिम नेपालमा करीब २० लाख थारुको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रूपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts