जडिबुटीका सुकुम्बासीमा क्यान्सर गराउने ‘एच पाईलोरी’ जीवाणु



Download our app to get more features

काठमाडौं ३ भदौ । जडिबुटीमा बसोबास गर्दै आएका सुकुम्बासीमा ‘एच पाईलोरी’ अर्थात क्यान्सर गराउने जीवाणु भएको पत्ता लागेको छ । लामो अध्ययन अनुसन्धानले सो क्षेत्रका नागरिकहरुमा क्यान्सर लगाउने जीवाणु एच पाईलोरी भएको पत्ता लागेको हो ।

सिएमडीएन नामक संस्थाले जडिबुटीमा बसोबास गर्ने सुकुम्वासीको स्वास्थ्य परीक्षणका माध्यमबाट उक्त जीवाणु भएको पत्ता लगाएको थियो । संस्थाका कार्यकारी निर्देशक दिवेश कर्मचार्यले जडिबुटीमा बसोबास गर्ने सुकुम्बासीको स्वास्थ्य समस्या गम्भीर रहेको बताए । त्यस क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण गर्दा ठुलो संख्यामा ‘एच पाईलोरी’ जीवाणु देखियो । यसले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ । सरकार यसमा जिम्मेवार बन्नुपर्छ कर्मचार्यले भने ।’

मानिसमा क्यान्सर गराउने एच पाइलोरी
संस्थाले १ सय ६९ जना सुकुम्बासीको नमूना संकलन गर्दा ६३ जनामा एच पाईलोरी जीवाणु देखिएको थियो । जडिबुटीमा ७ सय सुकुम्बासी परिवारको बसोबास रहेको छ । चिकित्सकका अनुसार उक्त संख्या असाध्यै बढी हो । उक्त तथ्याङ्कलाई आधार मान्दा सुकुम्बासी बस्तीमा बसोबास गर्ने करिब ३७ प्रतिशत मानिसमा क्यान्सर गराउने एच पाइलोरीको जीवाणु रहेको छ । परीक्षणबाट आएको नतिजालाई आधार मान्दा बच्चा देखिकै समस्या पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । 

पेट र सानो आन्द्रामा बढी असर
क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार यस जीवाणुले पेटमा अल्सर गराउने र धेरै क्यान्सरका रुपमा विकास हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र वयस्क मानिसमा यसले बढी हमला गर्छ उनले भने । एच पाईलोरी धेरै हानिकारक जीवाणुका रुपमा चिकित्सकले लिने गरेका छन् । यसले पेट र सानो आन्द्रामा बढी असर गराउँछ । निर्देशक कर्मचार्यले भने, ‘सो बस्ती स्वास्थ्यका हिसावले अत्यन्तै जोखिममा थियो । त्यहाँका परिवारले सयौं सुगुरहरुको फार्म खोलेर व्यापार गर्दै आएका थिए । जसले जोखिम ठानेर हामीले जडिबुटीका सुकुम्बासीको स्वास्थ्य कति जोखिम छ भनेर अनुसन्धान गरेका थियौं ।’ 

समयमै निदान नगरे भबिश्यमा क्यान्सर बढ्छ
डा. बरालका अनुसार सरकारले त्यस्तो क्षेत्रको पहिचान गरी स्वास्थ्य शिविर निरन्तर जस्तो संचालन गर्नु पर्छ । काठमाडौं भित्रका जनता स्वास्थ्यको गम्भीर जोखिममा पर्नु आफैमा आश्चर्यको विषय हो । यदी बेलैमा सचेत नहुने हो भने, भविष्यमा यसले अनपेक्षित रुपमा क्यान्सरका बिरामीको संख्या बढाउँछ । बिरामीको स्वास्थ्यबारे जानकारी लिई एन्टिवायोटिक २ हप्तासम्म चलाएको खण्डमा जिवाणुलाई मार्न सकिन्छ । सुगुर, पानी खानेकुुराका माध्यमबाट व्याक्टेरिया स्वस्थ शरीरमा प्रवेश गरी क्यान्सर लगाउँछ । बरालका अनुसार पेटको आन्द्राको क्यान्सर गराउन सक्ने कारक तत्वका रुपमा एच पाईलोरीलाई लिने गरिन्छ । 
 

Last modified on 2018-08-19 19:11:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts